प्रधानमन्त्री कप क्रिकेट :- वाग्मती र प्रदेश १ विजयी

२०७७, ९ माघ शुक्रबार १४:०२

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् ।

फाइल फोटो

वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । वाग्मतीका लागि पृथु बाँस्कोटाले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ७५ बलको सामना गर्दै एक छक्का र चार चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाउनुभयो । यस्तै विभत्सु थापाले ४७, आकाश थापाले ३२ तथा इशान पाण्डे १५ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर शाहले दुई तथा विशाल सुसलिङ र कुमार थापाले एक÷एक विकेट लिनुभयो । यसअघि पहिला ब्याटिङ गर्ने क्रममा प्रदेश २ का लागि विवेक यादवले ६६ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ७४ बलमा तीन छक्का र तीन चौका प्रहार गर्नुभयो । यस्तै कुमार थापाले २२, राहुलप्रताप सिंहले १८, सुधिर चौधरीले १५ तथा कप्तान सुरज कुर्मीले १३ रनको योगदान दिनुभयो । बलिङतर्फ वाग्मतीका गौतम केसी एक्लैले चार, रामनरेश गिरीले दुई तथा नन्दन यादव, तिलक भण्डारी र विपीन आचार्यले एक÷एक विकेट लिनुभयो । वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । वाग्मती शीर्ष स्थानमा छ भने प्रदेश २ चौथो स्थानमा छ । प्रदेश १ को सान्त्वना जित प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले आज सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो । प्रदेश १ ले टस जितेर पहिला ब्याटिङ गर्दै २१५ रन बनायो । दुई सय १६ रनको विजय लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनायो । कर्णालीका लागि विपीन रावलले सर्वाधिक ४७ रन बनाउनुभयो । यस्तै निश्चल रावलले ३१, कप्तान रविन्द्र शाहीले १८, दिवान पुनले १४ तथा दिनेश अधिकारी ११ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश १ का मिनास थापा एक्लैले पाँच विकेट लिनुभयो । यस्तै दिपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिनुभयो । यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै शुभशङ्कर उरावले ३६, मिनास थापाले २५, सर्वण यादवले १७, फिर्दोस अन्सारीले १७ तथा राजन मगरले १० रन बनाउनुभयो । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन तथा दिनेश अधिकारी र अनुज चुनाराले दुई÷दुई विकेट लिनुभयो । प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ ।

Comments

ताजा खबर