पोखरामा राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु

२०७७, ९ माघ शुक्रबार १३:३७

पोखरा, ९ माघ विश्वकप फुटबल तथा एशियन कप छनोटको बाँकी खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आजदेखि पोखरामा बन्द प्रशिक्षण शुरु गरेको छ ।

फाइल फोटो

राष्ट्रिय टोलीको प्रारम्भिक सूचीमा समावेश ३५ खेलाडीले पोखरा रङ्गशालाभित्रको अन्तर्राष्ट्रिय फुटबल मैदानमा साँझ ३ बजेदेखि दुई घण्टा अभ्यास गरेका हुन् । टोलीलाई राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जन तथा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउनुभएको थियो । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का केन्द्रीय सदस्य एवं राष्ट्रिय टोली तयारी समितिका संयोजक मधुसुदन उपाध्यायले राष्ट्रिय टोली आगामी माघ २१ गतेसम्म पोखरामा रहेर प्रशिक्षण गर्ने जानकारी दिनुभयो । टोलीलाई नयाँ वातावरणमा ‘रिफ्रेसमेन्ट’ सहितको प्रशिक्षण गराउने एन्फाको योजना छ । “काठमाडौैँमा डेढ महिना बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई स्वच्छ वातावरणमा रिफ्रेसमेन्टसहितको ट्रेनिङका लागि पोखरा आएका छौँ । यहाँको प्रशिक्षणले खेलाडीहरुमा हौसला मिल्ने विश्वास छ ।” उहाँले भन्नुभयो । बिहीबार साँझ पोखरा आएको टोलीमा ३५ खेलाडी र नौ जना अफिसियल छन् । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एशियन कपको छनोट चरणका अब तीन खेल खेल्न बाँकी छ । नेपालले चाइनिज ताइपेईसँग अगामी चैत १२ गते र अष्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा खेल्नेछ । तीन ‘अवे’ खेल खेलिसकेको नेपालले घरेलु मैदानमा तीन खेल खेल्नेछ । नेपालले कुवेतसँगको ‘होम म्याच’ भुटानमा खेलेको थियो । छनोट चरणमा नेपाल रहेको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन् । नेपाल छनोट चरणमा तीन अङ्कसहित समूहको चौथो स्थानमा रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु