गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौं एकिकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ ।मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् ।

फाइल फोटो

नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालीन पोशाकमा बाजागाजासहितको टोली यात्रामा निस्किएको रणसिंह दल गणका गणपति उज्वल केसीले जानकारी दिनुभयो ।

गोरखा दरबारबाट सुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ । गोरखाबाट हिँडेको टोलीले गोरखा नगरपालिकाको ताप्ले, भिमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुँदै बुंकोटघाट पुगेर धादिङको देविदत्त गणलाई टर्च र झण्डा हस्तान्तरण गर्नेछ । त्यस्तै सोहि टोलीले नुवाकोटको जबरजंग गणलाई बुझाउँछ र काठमाडौंको पल्टनलाई बुझाउन नुवाकोटको टोली पुस २६ गते काठमाडौं पुग्नेछ ।केसीका अनुसार टर्च र झण्डासहित उक्त पल्टन पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागि हुनेछ । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रम अन्तर्गत पदयात्रा गरिएको सेनाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र नेपाली सेनाका पृतनापति विनय विक्रम राणाले संयुक्त रुपमा सहसेनानी दल बहादुर थापालाई टर्च र झण्डा हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले एकिकरण मार्ग प्रवर्द्धनका लागि जिल्लाहरुबिच आवश्यक समन्वय हुनुपर्ने बताउनुभयो ।पृतनापति राणाले राष्ट्रिय एकताको सन्देशका लागि पनि पदयात्रा गरिएको बताउनुभयो । पदमार्ग, कोट, गढी र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने सेनाको विशेष कार्यक्रम रहेको बताउँदै राणाले इतिहास सम्बर्द्धनको कार्यमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

गोरखा नगरपालिकाका मेयर पन्तले इतिहास संरक्षणका लागि सेनाले सुरु गरेको कार्यलाई सबै स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।इतिहास जर्गेनाका लागि सेनाले गरेको कामको प्रशंसा गर्नुहुँदै मेयर पन्तले गत वर्षबाट गोरखा नगरपालिकाले पनि पृथ्वी जयन्ती भव्यताका साथ मनाउन थालेको जानकारी दिनुभयो ।।