गलेश्वर, मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो। यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ छ ।
कोटगाउँको इतिहास चार सय वर्ष पुरानो छ । चार सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको वंशवृक्षझ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताउनुभयो । उहाँका अनुसार सेवा र सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एकभाइ कोट गाउँ र एक भाइ पाखापानीमा बस्न थाले । सेवा जेठा र सुन्दर कान्छा थिए । शेरपुंजा थरका ती दुई भाइमध्ये सुन्दर नाम गरेकोभाइले थर परिवर्तन गरी पाइजा बने र उनी कोटगाउँबाट बसाइँ सरी पाखापानीमा गए ।
त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन र विवाह गर्न निकै कठिन पर्दथ्यो । उनीहरुका कुटुम्बी कोही नहुँदाविवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाई पाखापानीमा पठाइएको कोटगाउँका ७२ वर्षीयगौबहादुर शेरपुंजाले जानकारी दिनुभयो ।
सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले । सुन्दर र सेवाका सन्ततिहरुको एकापसमा विवाह र सोलीडोली चल्न थाल्यो । त्यसपछिशेरपुंजा र पाइजाका बीचमा विवाह हुने चलन शुरु भयो । दुवै थरको सन्तान झ्याङ्गिदै गए । वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एकभाइको थर परिवर्तन गरेर विवाह गर्ने चलन शुरु गरेका र अहिले पाइजा र शेरपुंजाका बीचमा विवाह गर्ने परम्परा बसेको गौबहादुरलेबताउनुभयो ।
यसरी शुरु भएको शेरपुंजा र पाइजाहरुको वंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको छ । अहिले कोटगाउँमा ९६ घरधुरीकोमात्र बसोबास रहेको छ । तीमध्ये शेरपुंजाका ५० घरपरिवार, पाइजाका १७, थजालीका सात, गर्बुजाका १४ र दलितका आठ घरपरिवारमात्र कोटगाउँमा बस्दै आएका छन् ।