जव कवि बौलाउछ
एक झिल्का शब्दहरुले
सल्काउछ सिङ्गो ब्रह्माण्ड
एक थोपा मसीले
निभाउँछ त्यो भयङकर डढेलो
एक अञ्जुली पानीमा
देख्दछ महासागर
त्यै महासागरमा
चलाउन सक्छ टाईटानिक जहाज
आफू क्याप्टेन बनेर
खचाखच भरेर लैजान्छ
जिजिविषाहरुलाई घुमाउन
एक अन्जुली महासागरमा
डुब्दछ उस्को जहाज
हरियाली भित्र देख्दछ मरुभूमि
मरुभूमी भित्र देख्द्छ सुन्दर
हरियाली
काँडामा कोमल फूल भेट्दछ
सुन्दर फूलमा काँडा भेट्दछ
ठ्ट्टा नसम्झ
जन्मको के कुरा
कसैको मृत्युमा हाँस्न सक्दछ
कहिले घामले डढेर राख बन्दछ
कहिले शितल जूनमा पाइला टेक्दछ
उ प्लूटो भन्दा पर पुग्छ
अणु भन्दा सानो बन्दछ
हराउँछ अनगिन्ती तारापून्जका
निहारिका भित्र
कहिले खोक्रो आकाशको
आनन्द पनि लिन्छ
पत्याउदैनौ ?
गार्हो छ पत्याउन पनि
कवि पनि एक जादुगर जस्तै हो
उस्को जादुलाई अनुभूति गर्न
उस्को जादुलाई देख्न
पढ्नु पर्छ
तर तिम्ले पढन छाडेको
धेरै भैसक्यो
आयाम कार्की