जिल्लाकै सबैभन्दा अग्लो डाँडो कस्या टाकुरी पर्यटन प्रवद्र्धनका लागि सिँगारिदै छ । समुद्री सतहबाट करीब सात हजार फिटकोउचाइमा रहेको कस्या टाकुरी पर्यटकीय महत्वको क्षेत्र भएकाले यसलाई महत्व दिइँदै छ ।
त्यहाँबाट डडेल्धुरा सदरमुकाम, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गाउँपालिकाका विभिन्न क्षेत्रका साथै महाभारत पर्वत शृङ्खला र डोटी, बझाङ, अछाम, बैतडी जिल्ला र भारतीय भूभाग पनि अवलोकन गर्न सकिने हुँदा अमरगढी नगरपालिकाले पर्यटन पूर्वाधारका संरचनानिर्माण गर्ने काम अगाडि बढाएको छ ।
अमरगढी –७ स्थित अग्लो डाँडामा परापूर्वकालमा राजा हरि शाहीको दरबार थियो । हालको नवदुर्गा गाउँपालिका –४ बेलापुरकोखुनी बस्ने केशे विष्टले राजाका भारदारसंँग झगडा गर्दा शाहीका भारदारहरुले हत्या गरेको ठाउँ भएकाले यसलाई पछि कस्या टाकुरीनामकरण गरिएको स्थानीयवासी ७२ वर्षीय भोजराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो,“उक्त टाकुरीमा २० –२५ वर्षअघिसम्मढुङ्गाको मन्दिर रहेको थियो र खाना पकाउने केही भाँडाकुँडासमेत रहेका थिए ।”
कस्या टाकुरी पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले नगरपालिकाले रु ७२ लाखको बोलपत्र आह्वान गरी काम शुरु गरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो,“टाकुरीसम्म पुग्ने पैदलमार्ग, टाकुरीमा मन्दिर निर्माण र विभिन्न क्षेत्रकोदृश्य हेर्नका लागि दूरबिन राख्छौँ, साथै वनभोजस्थलका रुपमा विकास गर्ने गरी विभिन्न संरचना निर्माणको काम अगाडि बढाइने छ ।”
टाकुरीसम्म पुग्न पैदलमार्गका बीचबीचमा विश्रामस्थल र माथि चारैतिर रेलिङ लगाउने कार्य भइरहेको छ । टाकुरी उत्खनन गर्दाप्राचीनकालीन ओखल, मन्दिरका घण्टीलगायत सामग्री भेटिएको स्थानीयवासी धर्मराज भट्टराईले बताउनुभयो ।