काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गतेदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड १९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटा सम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । तर विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तरपनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटा भन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए । त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटा सम्म उडान गर्न सम्भव हुने उनले बताए ।
अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समय भन्दा कम्तिमा चार घण्टा अघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उनले बताए । समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो । विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने बताए ।
विमानस्थलसँग जनशक्ति प्रयाप्त भएको तर संक्रमणको जोखिम कमगर्नका लागि साधन स्रोत थप्नुपर्ने बताए । उनले देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने स्पस्ट पारे ।
कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए । यस्तै यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहन समेत केसीले आग्रह गरे । विमानस्थलमा कुनैपनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको पनि उनले बताए ।