बगनासकालीमा ब्यवसाय गर्न चाहनेले धितो बिना सस्तो ब्याजमा ऋण पाउने

२०७७, ३० मंसिर मंगलवार १४:१९
 पाल्पा । बगनासकाली गाउँपालिकाका कृषि पशुपालन तथा अन्य स्वरोजगारमुलक ब्यवसाय गर्न चाहनेहरुले अव सस्तो ब्याजमा बिना धितो ऋण पाउने भएका छन् ।
नेपाल बैंकसितको सहकार्यमा बगनासकाली गाउँपालिकाले सहुलियतपुर्ण कर्जा उपलब्ध गराउन लागेको हो । यससम्बन्धी नेपाल बैंक र गाउँपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल बैंकका लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख पासाङ दोर्जे शेर्पा र गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले यससम्बन्धी सम्झौतापत्रमा हस्तारक्षर गरेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बिदेशबाट फर्केका वा नेपालमै रहेर पनि ब्यवसाय गर्न चाहने ब्यक्तिहरुले यसबाट लाभ लिन सक्ने बताए । ऋण लिन चाहने ब्यक्तिले धितो समेत राख्नु पर्दैन । व्यवसाय गर्न चाहाने युवाहरूले माग गरे अनुसार बिना धिताे ऋण प्रदान गरिने अध्यक्ष बस्यालले बताउनु भयाे । बैंकका प्रमुख पासाङ दोर्जे शेर्पाले यो कार्यक्रमले महिला र बिदेशबाट फर्केका युवाहरुलाई बढी प्राथमिकता दिने बताए । ऋण लिई ब्यवसाय लिन चाहने ब्यक्तिलाई सहज रुपमा बिना झन्झट ऋण उपलब्ध गराइने समेत उनले बताए । यसका लागि महिला उद्यमीले बार्षिक २.१८ प्रतिशत र अन्य उद्यमीले बार्षिक ३.८१ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने बताए । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी दर्लामीले अधिकांश युवाहरु बैदेशिक रोजगारीमा रहेको र उनीहरुका परिवार समेत छोराछोरी पढाउने वा अन्य बाहनामा शहर पस्ने क्रम बढ्दै गएकोले बैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुलाई स्वदेशमै उद्यमशील बनाउन यो कार्यक्रम बढी प्रभावकारी हुने बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले बैंक र गाउँपालिका बीच भएका सम्झौताका बुदाहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा बैंकका पाल्पा शाखा प्रमुख सुरज घिमिरे गाउँपालिकाका कर्मचारी लगायत जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीको संचालनमा चलेको थियो । नेपाल बैंकले पाल्पाकै तानसेन नगरपालिकासित पनि यसप्रकारको सम्झौता गरि उद्यमशीलता कार्यक्रम संचालन गर्दै आएको छ । तानसेन नगरपालिकामा यो कार्यक्रम निकै प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन् ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु