स्थानीय सरकारले लिफ्ट खानेपानीको बिजुली बिलमा अनुदान ।

२०७७, ११ मंसिर बिहीबार १३:०२
 पाल्पा । पाल्पाका दुईवटा स्थानीय सरकारले लिफ्ट खानेपानी योजनामा लाग्ने विद्युत महसुलमा अनुदान दिएका छन् ।
फाइल फोटो
लिफ्ट खानेपानीमा हुने विद्युत खर्चले खानेपानीको मासिक शुल्क ग्राभिटीको भन्दा महँगो परेपछि जनतालाई राहत स्वरूप अनुदान दिने नीति लिएका हुन् । सरकारको अनुभूति दिलाउन दुई वर्षदेखि वगनासकाली गाउँपालिका र तीन वर्षदेखि तानसेन नगरपालिकाले उपभोक्ता समितिलाई अनुदान दिएर उनीहरूमार्फत महसुल छुट दिने व्यवस्था मिलाएका हुन् । खानेपानीका मूलहरू तल भएपछि धेरै स्थानमा लिफ्ट खानेपानी योजनाहरूबाट खानेपानी आपूर्ति भएका छन् । वगनासकाली गाउँपालिकाले लिफ्ट खानेपानी योजनामा विद्युत महसुलको ४० प्रतिशत र खानेपानी नयाँ मोटर खरिदमा ७० प्रतिशत अनुदान दिएको छ । विद्युत महसुलमा गत वर्ष १० लाख रुपैयाँ अनुदान दिएकामा यस वर्ष आठ लाख रुपैयाँ विनियोजन गरिएको छ । नयाँ मोटर खरिदमा गत वर्ष सात लाख ९६ हजार रुपैयाँ अनुदान दिएकामा यस वर्ष आठ लाख रुपैयाँ विनियोजन गरेको छ । पालिकाले दिएको अनुदानबाट १० वटा योजनाका करिब एक हजार ५०० परिवार लाभाविन्त भएका छन् । ज्याला मजदुरी गरेर जीवन चलाउने र आर्थिक अवस्था कमजोर भएकाहरूलाई खानेपानीको महसुल तिर्न पनि धौधौ हुने भएकाले उनीहरूको महसुलमा छुट हुने गरी उपभोक्ता समितिलाई अनुदान प्रदान गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ देखि तानसेन खानेपानी उपभोक्ता समितिलाई अनुदान दिन थालेको छ । पहिलो वर्ष छ लाख, दोस्रो वर्ष २५ लाख र यस वर्ष २५ लाख रुपैयाा अनुदान पालिकाले प्रदान गरेको छ । नगरपालिकाले अनुदान दिएपछि तानसेन नगरभित्रका करिब तीन हजार ४०० घर परिवारलाई मासिक सेवा शुल्कबापत लाग्ने १०० रुपैयाँ महसुल समितिले छुट दिएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताए । तानसेनमा कालीगण्डकी, भुल्के र सिक्ने मूलबाट खानेपानी लिफ्ट गरेर वितरण गरिएको छ । बगनासकाली गाउँपालिकामा अझै तीन हजार ५०० घर परिवारमा एक घर, एक धारा खानेपानी पुग्न बाँकी छ । पालिकाले दुई वर्ष अगाडि २५ लाख रुपैयाँ विनियोजन गरेको कालीगण्डकी लिफ्ट बृहत योजना शुरु गरेको थियो । कालिगण्डकी लिफ्ट योजना लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु