अब एक्लै ओलीसँग सहमति नगर्ने प्रचण्डको अडान, बैठक डाके ओली अल्पमतमा पर्ने संकेत

२०७७, १६ कार्तिक आईतवार ०३:१९

काठमाडौँ, कार्तिक  १५  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै आएका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आखिरमा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्, शनिबार।

फाइल फोटो

योसँगै ओलीले ११ दिन लामो प्रचण्डसँगको प्रत्यक्ष संवादहिनताको अवस्थालाई तोडेका छन्। तर यसअघि नेकापामा बढ्ता उनीहरुकै कारण उत्पन्न भएका आन्तरिक राजनीतिक संकटबारेको छलफलमा भन्दा शनिबार ओलीसँग प्रचण्ड पृथकरुपमा प्रस्तुत भए।

अघिपछि प्राय उनीहरुबीच सत्ता भागबण्डालाई लिएर हुने सहमति कार्यान्वयन नहुने संकेत देखिएपछि प्रचण्ड अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ लिने तर ओलीसँगको भेटमा आफ्ना लागि कुनै ‘गोप्य’ सहमति गर्ने र आफ्नो विश्वास गुमाउन पुग्थे।

तर यसपाली प्रचण्डले त्यसो गरेनन्। पछिल्लो समय एकपछि अर्को गर्दै विकसित घटनाक्रममा ओलीसँग अब एक्लै गोप्य वार्ता र सहमति गर्नुहुन्न भन्ने पाठ प्रचण्डले सिकेको बुझिन्छ।शनिबार प्रचण्डले बालुवाटार पुगेर त्यसलाई पुष्टीसमेत गर्ने कोशिस गरेका छन्।

पार्टी उच्च स्रोतका अनुसार प्रचण्डले सुरुमै ओलीलाई भनेका थिए, ‘तपाईँ र मबीच सुरु भएको मतभिन्नता र असमझदारी अब एक्लाएक्लै बसेर समाधान हुन्न। तपाईँबाट पार्टी निर्णय उल्लंघन भएको छ। अब त्यसलाई लिएर पार्टी बैठकमा छलफल गरौँ। सबैभन्दा पहिले केन्द्रीय सचिवालय बैठक बोलाऔँ।’

योसँगै अघिपछि जस्तै प्रचण्ड यसपालि पनि गलेरै आएको र आफूसँग सम्झौता गर्ने ओलीको बुझाई तोडिएको थियो।प्रचण्डलाई मनाउन ओलीले बुधबार यता आफ्ना चार विश्वासपात्रलाई खुमलटार पठाइसको थिए। त्यसैकारण प्रचण्ड बालुवाटार आएको बुझाई थियो।

स्रोतका अनुसार त्यसैले ओलीले प्रचण्डलाई भनेका थिए, ‘हामीबीच त्यस्तो कुनै असमझदारी भएको जस्तो लाग्दैन। बाहिर अनेक भ्रम सिर्जना गर्ने काम भइरहेको छ। त्यस्तो कुनै असमझदारी भएको छ भने हामी नै छलफल गरेर टुंग्याउनु राम्रो होला।’

तर प्रचण्डले भने आफ्नो अडान यथावत राखेको प्रचण्ड निकट एक नेताको भनाई छ। ‘पछिल्लो पटक तपाईका निर्णय र कामकारवाहीले गम्भीर प्रश्न उठाएका छन्। अब तपाई र मेरो एक्लाएक्लै बार्ता हुन्न। सचिवालय बैठक बोलाऔँ। बैठकको प्रस्ताव गर्न मात्रै म आज बालुवाटार आएको हुँ,’ प्रचण्डको भनाई उद्धृत गर्दै उनी निकट एक नेताले भने।

ओलीले प्रचण्डको मागलाई पन्छाउन खोजेपछि प्रचण्डले उनीसँग गुनासोको पोको फुकाउन सुरु गरेका थिए।सबैभन्दा पहिले उनले कर्णाली विवादमा अनावश्यक हस्तक्षप गरेर एउटा प्रदेशको झगडा देशव्यापी बनाएको आरोप ओलीलाई लगाएका थिए।‘मसँग एउटा समझदारी गर्नु भएको थियो अनि मलाई थाहा नदिई बाहिर अर्को सूचना पठाएर गल्ती कसले गरेको छ? समिक्षा होस्। एक्लै निर्देशन दिएर पार्टी निर्णय उल्लंघन भयो की भएन? त्यसबारे पनि छलफल होस्’, ओलीलाई प्रचण्डले पोखेको गुनासो उद्धृत गर्दै ती नेताले भने।

अघिल्लो महिना असोज २५ गते ओली पक्षका ८, नेपाल पक्षका ७ र प्रचण्ड पक्षका ३ जना प्रदेशसभा सांसदले प्रचण्ड निकट कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। मुख्यमन्त्री शाहीको पद धरापमा परेपछि ओली र प्रचण्डले उक्त समस्या यथावत राखी आफूहरुसँग संयुक्तरुपमा छलफल गर्नका लागि काठमाडौँ आउन कर्णालीका तीनै पक्षका नेताहरुलाई निर्देशन दिएका थिए।

तर प्रदेशका नेताहरुलाई काठमाडौँ बोलाएपछि सहमतिमा विवाद समाधान गर्न असफल भएका ओली र दाहाल प्रदेश विवादलाई लिएर छुट्टाछुट्टै प्रेस नोट जारी गर्नुका साथै निर्देशनसमेत जारी गर्ने तहसम्म पुगेर प्रत्यक्ष संवादहिनताको अवस्थामा पुगेका थिए।प्रचण्ड-नेपाल समूहको पहलमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव भने असफल भएपनि ओली र दाहालबीचको विवाद अन्त्य भएको थिएन।

कार्तिक ५ गते ओलीबाट अर्को अप्रत्यासित गल्ती भयो। सीमालगायत विषयमा बार्ता ठप्प भइरहेका बेला ओलीले भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सान्तकुमार गोयलसँग ‘गोप्य’ रुपमा भेटे।यसको बचाउमा अनेक उपायसहित ओली पक्षधर नेताहरु उत्रिए पनि ओली र गोयलबीचको भेट मुलुकको सार्वभौमसत्ताबिरुद्ध थियो भन्नेमा प्रचण्डलगायत नेताहरु पुगिसकेका छन्।

स्थायी कमिटी सदस्य एवं पूर्वगृहमन्त्री भीम रावलले त राष्ट्रघाती काम गरेर सत्तामा बस्ने नैतिकता ओलीमा नरहेको कडा टिप्पणीसमेत गरेका छन्। उल्टो ओली पक्षले ओली र गोयलबीचको भेटलाई लिएर आलोचना गर्नेहरुले पनि गोयललाई ‘गोप्य’रुपमा भेटेको आरोपलगाएपछि नेता रावलले आफूहरुले गोयलयको छायाँसमेत नदेखेको स्पष्टीकरण दिएका छन्।

प्रचण्डले शनिबारको भेटमा कर्णाली विवादपछि प्राथमिकताका साथ उठाएको विषय ओली–गोयल भेट प्रकरण पनि हो।प्रचण्डले ओलीलाई सोधेका थिए, ‘मुलुक यस्तो संकटमा फसिरहेका बेला पार्टीमा एक पटक पनि सल्लाह नगरी के कति कारणले गोयलसँग भेट गर्नुभयो? यथार्थ के हो?’ ओलीले यसअघि आफू पक्षका नेताहरुलाई ‘ब्रिफिङ’ गरेजस्तै भारतीय प्रधानमन्त्रीले संवादका लागि ‘दुत’ पाठाउँछु भनेको तर पठाउँदा गोयललाई पठाएको भन्दै आफ्नो बचाउ गरेको बुझिएको छ।

स्रोतका अनुसार प्रचण्डले ओलीको जबाफमा चित्त नबुझाएपछि यसबारेको छलफल हामीले पार्टीमै गर्नुपर्छ भनेका थिए।यस्तै प्रचण्डले पर्सामा मारिएका नेकपाका नेता मुकेश चौरसियाको विषय पनि उठाएका थिए। तर ओलीले प्रचण्डलाई भनेका थिए, ‘तपाई आफ्नै सरकारलाई सार्वजनिकरुपमा कारवाही गर भन्दै चेतावनी दिने।’त्यसपछि प्रचण्डको प्रश्न थियो, ‘त्यति पनि मैले माग गर्न नपाउने। एउटा होनाहार नेताको ज्यान जाने कुरा सानोतिनो हो?’

शनिबार ओली र प्रचण्डको यो भनाभनाले करिव एक घण्टा समय लियो। योसँगै प्रचण्डलाई फकाउने ओलीको प्रयास यसपाली असफल भएको छ।प्रचण्डले बैठकको अन्तिमसम्म पनि सचिवालय बैठक बस्नुको बिकल्प छैन भन्दै अडान लिएपछि महासचिव विष्णु पौडेलसँग सल्लाह गरेर बैठकको मिती तोकौँला भन्दै ओली उठेका थिए।

बालुवाटार पुग्नु अघि प्रचण्डले पटकपटक नेता नेपाल, खनालगायत नेताहरुसँग सल्लाह गरेका थिए। नेपाल र खनालको प्रचण्डलाई सुझाव थियो,‘सचिवालय बैठक माग गर्नुहोस्।’एक्लै छलफल र सहमति गर्दा ओलीबाट पटकपटक धोखा खाइसकेका प्रचण्डले ती नेताहरुको सल्लाह अनुसार बालुवाटार पुगेर बैठकको माग गरेका छन्।यसबाट अब एक्लै होइन, संस्थागतरुपमा अघि बढे ओलीलाई हराउन या ‘साइज’मा राख्न सकिन्छ भन्नेमा प्रचण्ड स्पष्ट भएको बुझिन्छ।

नेपाल निकट नेता भन्छन्,‘अध्यक्ष प्रचण्डले आफ्नै कारणले पटकपटक हाम्रो विश्वास गुमाउनु भएको छ। पटकपटक शंका लाग्ने काम उहाँबाट भएको छ। त्यसले पार्टी एकतालाईसमेत अफठ्यारो पार्यो। यसपटक उहाँले पाठ सिके जस्तो लाग्छ।’प्रचण्डले यसअघि मंसिर ४ गते पूर्वसहमति अनुसार ओलीबाट प्राप्त कार्यकारी अध्यक्षको हैसियत संकटमा परेपछि यीनै नेताहरुको साथ मागेका थिए।यो भन्दा अघि ७९ दिन लामो आन्तरिक कलह र संघर्ष तोड्दै भदौँ २५ गतेको स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गर्दा ओली र प्रचण्डको कार्यविभाजन स्पष्टरुमा विभाजित गरिएको थियो।

ओली पूर्णरुपमा सरकारको कामकारवाहीमा केन्द्रीत हुने, प्रचण्ड पूर्णरुपमा पार्टीको कामकारवाहीमा केन्द्रीत हुने तर काम गर्दा एकअर्कासँग समन्व्य गर्ने उनीहरुको शर्त थियो।राजदूत नियुक्तिदेखि गोयल प्रकरणसम्म आइपुग्दा ओलीले त्यो शर्त उल्लंघन गरेको प्रचण्डलगायत नेताहरुको निष्कर्ष छ। त्यसैले अब उनीहरु स्थायी कमिटीको निर्णय उल्लंघनसँग पार्टीमा समस्या सुरु भएकाले अब सचिवालयसँगै स्थायीकमिटी बैठक मात्रै होइन तुरुन्त हालै मंसिर १५ लाई सारिएको केन्द्रीय कमिटी बैठक समेत हुनुपर्ने माग गरेका छन्।

नेता खनाल भन्छन्,‘हाल उत्पन्न भएको विवाद अब दुई पार्टी अध्यक्ष मात्रै बसेर समाधान हुन्न। दुई जना एक्लाएक्लै बार्ता गर्नुको कुनै औचित्य छैन। सचिवालय बैठकबाट समस्या समाधान हुन्छ।’

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु