बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर घट्यो

२०७७, ११ कार्तिक मंगलवार १०:३७

काठमाडौँ, कार्तिक ११ । कोभिड १९ को प्रभावले बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर ह्वातै घटेको छ । चालु अर्थिक वर्षको दोस्रो महिनासम्म अर्थात भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर करिब सिंगल डिजिटको नजिक आाएको छ ।

बैंकहरुमा कर्जाको माग नहुँदा ब्याजदर घट्यो

भदौ मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर ७.८३ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन २०७२ पछिकै न्युन हो । गत अर्थिक वर्षको सोही अवधि अर्थात भदौ मसान्तमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.५३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले कर्जाको माग नआउँदा निक्षेपको ब्याजदर घटाएको र जसले गर्दा बैंकहरुको लागत घटेसँगै कर्जाको भारित औसत ब्याजदर पनि घटेको देखिन्छ ।  भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.१८ प्रतिशत र निक्षेपको भारित औसत ब्याजदर ५.६१ प्रतिशत रहेको छ । २०७६ असोज मसान्तमा कर्जाको भारित औसत ब्याजदर ११.९७ प्रतिशत र निक्षेपको भरित औसत ब्याजदर ६.८० प्रतिशत रहेको थियो ।

बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा त्यसको प्रत्यक्ष मारमा निक्षेकर्ता परेका छन् । बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर नै मुद्रास्फीति भन्दा कम रहेको छ । सामान्यत: निक्षेपकर्ताले पाउने वास्तविक ब्याजदर बचतमा हुनेपर्ने बताइन्छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्ट पनि निक्षेपको वास्तविक ब्याजदर बचतमा हुनुपर्ने बताउँछन् ।

निक्षेपको ब्याजदर र मुद्रास्फीति बीचको अन्तरलाई नै वास्तविक ब्याजदर भन्‍ने गरिन्छ । चालु आर्थिक वर्षको भदौको मुद्रास्फीति निक्षेपको भारित औसत ब्याजदरभन्दा कम देखिए पनि बढ्दो क्रममा रहेको छ । साउनको उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेकोमा भदौमा बढेर ४.५२ प्रतिशत पुगेको छ ।

यता बैंकहरुले केन्द्रीय बैंकले तोकेको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) पनि कायम गरेका छैनन् । गत असार मसान्तमा कृषि विकास बैंकबाहेक सबै बैंकले राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको स्प्रेड रेट कायम गरेकोमा भदौ मसान्तमा बैंकहरुको औसत स्प्रेड रेट नै  ४.५७ प्रतिशत पुगेको छ ।

गत वर्षको तुलनामा बढाए बैंकहरुले निक्षेप कर्जा भने बढ्न सकेन

चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले ०.५ प्रतिशतले निक्षेप बढाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक  वर्षको सोही अवधिमा निक्षेप ०.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८.७ प्रतिशतले बढेकोछ । २०७७ भदौमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.५ प्रतिशत, ३२.६ प्रतिशत र ५०.९ प्रतिशत रहेको छ ।

गत आार्थिक वर्षमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.५ प्रतिशत र ४८.३ प्रतिशत रहेको थियो । २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ०.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ९.८ प्रतिशतले मात्रै बढेको छ । यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा ०.५ प्रतिशत र विकास बैंकहरुको कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनीहरुको १.७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.३ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले परियोजना कर्जामा जोड दिनुपर्ने बताइरहँदा बैंक तथा वित्तीय संस्थाले भने धितो कर्जालाई जोड दिएको देखिन्छ । जसले गर्दा गत वर्षको तुलनामा बैंकहरुको धितो कर्जाको प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

यातायात, सञ्‍चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.७ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा २.८ प्रतिशत र मार्जिन प्रकृति कर्जा ४.७ प्रतिशतले बढेको छ ।

यस्तै ओभरड्राफ्ट कर्जा १.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु