फूलपाती गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो ।

२०७७, ७ कार्तिक शुक्रबार ०५:४२

गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबा बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।

फाईल फोटो

फूलपातीको डोली बा२झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि सोही साँझ हर्ष बढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारी हुनमानढोका दरबारमा फूलपाती लिएर गएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । ‘गत वर्ष भक्तजनहरूको ठूलो भिडभाड लाग्ने गर्थ्यो,’ उनले भने, ‘यसपटक त्यो हुन सकेन, सामान्यरूपमा विधि पुर्याएर फूलपाती पठाएका छौँ ।’

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैंको सातौँ दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ । गोरखा दरबारको दसैंघरबाट सतीपीपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाइएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण भक्तजनहरुको सहभागिताबिनै यसपटक विधिपूर्वक दरबारस्थित दसैंघरबाट सतीपीपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए । सतीपीपलसम्म बोकेर ल्याइएको फूलपाती राखेर हनुमानढोका पठाइएको हो । गोरखा दरबारको दसैंघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु