महावीरले भने- अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्नू!

२०७७, २ कार्तिक आईतवार ११:२९

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी  फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्।राष्ट्रिय आविष्कारकेन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा पनी सक्रिय छन्।

आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दु:ख पनि आफ्ना शुभेच्छुकलाई सुनाउँछन्।

आइतबार यस्तै एउटा पोस्ट उनले गरेका छन्।

‘मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पायो बाई’ लेखेर उनले कोट पाइन्ट लगाएको फोटो राखेका छन्।

महावीरलाई उनका साथीभाइले राम्रो कपडा लगाएन भनेर कचकच गरेका रहेछन्।

नयाँ कोट पाइन्ट लगाएर उनले साथीभाइलाई जवाफ दिएका हुन्।

०४५ सालमा अमेरिका पढ्न जाँदा पहिलोपटक कोट लगाएको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘धेरै वर्षपछि दसैंमा मैले नयाँ कपडा लगाएँको हुँ।’

उनले आइतबार दोस्रोपटक नयाँ कोट पाइन्ट लगाएको उल्लेख गरेका छन्।

‘यो कोट पाइन्ट मलाई नै नापेर सिलाइदिएका हुन्। पुरानो जडौरी होइन,’ उनले प्रष्टाएका छन्, ‘मेरो जीन्दगीको यो दोस्रो नयाँ सुट पाइन्ट हो।’

तर उनले यो दसैंमा पनि जुत्ता भने नयाँ लगाएका छैनन्। नयाँ कोट पाइन्टमा छ वर्ष पुरानो जुत्ता लगाएको पुनले बताए।

महावीरले साथीहरूलाई अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्न पनि आग्रह गरेका छन्।

‘धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्,’ उनले भनेका छन्, ‘नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरें।’

उनले नयाँ कोट पाइन्ट आफैंले किनेको वा अरू कसैले उपहार दिएको हो भन्नेबारे खुलाउन चाहेका छैनन्।

‘दसैंका बेला यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला,’ उनले भने, ‘केही महिनापछि मैले नै यसबारे बताउनेछु।’

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु