प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार

२०७७, २२ आश्विन बिहीबार ०७:०६

राजविराज, २२ असोज । प्रदेश २ अन्र्तगत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।

फाइल फोटो

यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले सर्वसाधारण समेतका लागि उपचार गर्न थालिएको हो । सर्वसाधारणको उपचार निःशुल्क भइरहेको अस्पतालका प्रमुख प्रहरी नायव उपरिक्षक डा सुरेन्द्र साहले जानकारी दिनुभयो । राजविराज नगरपालिका–३ निवासी जग्गादाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए । तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उद्घाटन गर्नुभएको थियो । अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचारसमेत यो अस्पतालले गर्न थालेपछि त्यहाँका जनता खुशी भएको स्थानीय नर्मदेव यादवको भनाइ छ । प्रत्येक दिन १२ देखि १५ सर्वसाधारणको उपचार थालिएको जानकारी दिँदै सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएको अस्पतालका प्रमुख डीएसपी डा साहले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ । जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा साहले बताउनुभयो । अस्पताल प्रमुख डा साहले भन्नुभयो, “उपचार गराउन आउने सर्वसाधारणलाई न त पूर्जी नै कटाउनुपर्छ नत ल्याब जाँचकै शुल्क तिर्नुपर्छ, अस्पतालले “एक्सरे पनि निःशुल्क नै रहेको छ ।” अस्पतालको आफ्नै ल्याब, डिजिटिल एक्सरे, भिडियो एक्सरे रहेको छ । डेन्टल विभाग छुट्टै रहने बताउँदै रगतको हरेक किसिमको जाँच यहाँ हुने गरेको उहाँको भनाइ छ । “दाँत उखाल्ने, सफा गर्ने ठूलो मेसिन यहाँ छ ।” “दन्त चिकित्सकको दरबन्दी भइसकेको छ”, डा साहले भन्नुभयो,“केही दिनभित्रै चिकित्सक आउनुहुनेछ ।” अस्पतालमा घाउ सफा गर्नेदेखि लिएर सानो शल्यक्रियासमेत गरिँदै आएको छ । अस्पतालमा एक जनरल फिजिसियन, एक विशेषज्ञ, दुई स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अहेब कार्यरत छन् । अस्पतालमा दश सुरक्षाकर्मीले काम गर्दै आएका छन् । यसबाहेक दुई जना दन्त विभागका टेक्निसियन पनि छन् । अस्पतालमा चार बेड आकस्मिक र दुई बेड प्रसूति गराउन राखिएको छ । अन्य १९ बेड जनरलका लागि छुट्याइएको छ । अस्पतालका प्रमुख डा साहले प्रहरी अस्पतालको सेवा राम्रो बनाउने आफ्नो सोच रहेको बताउनुभएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु