पर्यटक बसको टिकट ‘अनलाइनमार्फत बुकिङ’ गर्न सकिने ।

२०७७, १६ आश्विन शुक्रबार ११:०९

काठमाडौँ,  १६ असोज पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिने भएको छ । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) ले आफ्ना सबै बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यले इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (इसीआरसी) प्रालिसँग सम्झौता गरेको हो । पर्यटक बसको टिकट अनलाइन बुकिङमा जानेबारे आज टिवानका अध्यक्ष ईश्वर शर्मा र इसीआरसीका अध्यक्ष सञ्जीत पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सम्झौतासँगै टिवान अन्तर्गत रहेका सबै पर्यटक बसको टिकट अनलाइनमार्फत बुकिङ गर्न सकिनेछ ।

फाइल फोटो , सांकेतिक तस्बिर
पछिल्लो समय विश्वव्यापी फैलिएको कोभिड–१९ मा स्वास्थ्य सुरक्षा पालना गर्दै स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षितरुपमा गन्तव्यस्थलसम्म पुर्याउनका लागि पर्यटक बसमा अनलाइन बुकिङ शुरु गरेको टिवानका अध्यक्ष शर्माले बताए । “टिवान अन्तर्गत रहेका सम्पूर्ण पर्यटक बस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र स्वास्थ्य मन्त्रालयले लागू गरेको स्वास्थ्य मापदण्ड अनुसार सञ्चालन भएका छन्”, उनले भने ।

हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको पर्यटक बस व्यवसायी शिशिर खनाल बताउँछन् ।व्यवसायीले हाल बिहान ५ बजेदेखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु