कोरोना भाइरसको महामारीले जापानमा कर्मचारी भर्ती प्रक्रिया प्रभावित

२०७७, १३ आश्विन मंगलवार ०४:०६

टोकियो । कोरोना भाइरसको महामारीले जापानमा कर्मचारी भर्ती प्रक्रिया प्रभावित हुन थालेको छ । हालै भएको एक सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार सन् २०२० को जुनसम्ममा ३० प्रतिशत कम्पनीहरुले कसैलाई भर्ती गर्ने कि नगर्ने भनेर निर्णय नै गर्न सकेनन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा निकै धेरै हो ।

रोजगारी सम्बन्धी जानकारी प्रदायक कम्पनी माइनाभीले जुनमा गरेको सर्वेक्षणमा देशभरका २ हजार ८८६ कम्पनीहरुलाई सहभागी गराइएको थियो । यस क्रममा सहभागीहरुलाई सन् २०२१ र सन् २०२२ का लागि ग्र्याजुएटहरुलाई भर्ती गर्ने प्रक्रियाबारे सोधिएको थियो ।

यस क्रममा ३६ दशमलव ६ प्रतिशत कम्पनीहरुले आगामी वर्षको बसन्त ऋतुमा स्नातक गर्नेहरुलाई भर्ती गर्ने कि नगर्ने भनेर निर्णय नै नगरेको बताए । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव १ अंक धेरै हो ।

गत वर्ष भने यति बेला तिर कम्पनीहरु माझ ग्र्याजुएटहरुलाई भर्ती गर्ने प्रतिस्पर्धा नै चलेको माईनाभीले बताएको छ । यस पटक भने महामारीको मारका कारण कम्पनीहरुले केही निर्णय गर्न सकेका छैनन् ।

त्यस्तै गरी हजार भन्दा बढी कर्मचारी भएका ठूला कम्पनीहरुमध्ये भने १६ प्रतिशतले कर्मचारी भर्तीबारे निर्णय गर्न सकेका छैनन् । कम्पनी जति सानो भयो उति नै कर्मचारी नियुक्त गर्न गाह्रो भएको सर्वेक्षणमा पाइएको छ ।

क्षेत्रगत आधारमा भने ५२ दशमलव ९ प्रतिशत उच्च शून्य भर्ती दर सहित होक्काइदो अगाडि रहेको छ । अन्य क्षेत्रको तुलनामा यो निकै धेरै हो । यो दर उच्च हुने अन्य प्रिफेक्चरमा क्रमशः क्युशु, कान्तो र कान्साई छन् । क्युशुको भर्ती दर ४० दशमलव ९ प्रतिशत छ भने कान्तो र कान्साईको ३९ प्रतिशत ।

Comments

ताजा खबर