बामदेवको मुद्दाका कारण रोकियो मन्त्रिमण्डल पूनर्गठन

२०७७, १२ आश्विन सोमबार ०३:०१
काठमाडौं, ११ असोज । मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारी भइसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलले केही दिन पर्खने निष्कर्ष निकाल्यो । कारण थियो १४ गतेका लागि बामदेव गौतमको विषयमा परेको मुद्दाको संवैधानिक इजलाशका लागि सुनुवाई ।

आजै मन्त्रिमण्डल पुर्नगठन गर्दा बामदेव गौतमलाई नियतवश रोकिएको सन्देश जान्थ्यो । त्यसप्रति प्रचण्डले ओलीलाई सचेत गराएका थिए । त्यसपछि तीन दिन पर्खने सहमति भएको छ ।

अब मन्त्रिमण्डल पुर्नगठन १४ असोजपछि मात्र हुने भएको छ । उक्त दिन सर्वोच्च अदालतको संवैधानिक इजलाशले बामदेव गौतमलाई मन्त्री नबनाउनु भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रियामा सुनुवाई शुरु हुनेछ । इजलाशको फैसलाबारे धेरैले अनुमान गरिसकेका छन् ।

आज प्रचण्ड बालुवाटार पुगेर नरोकेको भए मन्त्रीहरुको लिष्ट नै तयार गरी पुर्नगठन हुने भइसकेको थियो । कतिपयलाई मन्त्री बनाउने खबर आइसकेको विश्वस्त सूत्रले बताएको छ । उनीहरुले दौरा सुरुवाल ठिक्क पारिसकेका छन् ।

अब ठिक्क पारेको दौरा सुरुवाल केही दिन फेरि थन्कने भएको छ । यसपटक बामदेवमाथि दिने त्रिपाठीले दायर गरेको मुद्दाले धेरैको मन्त्री बन्ने सम्भावनालाई केही दिन पछि धकेल्यो । बिदा हुन लागेका मन्त्रीहरु केही दिन पदमै रहने भएका छन् । तर, धेरै मन्त्रीहरुले बिदा हुनुपर्ने संकेत पाइसकेकाले अग्रिम तयारी गर्न थालेका छन् ।


Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु