खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने निर्णय

२०७७, ११ आश्विन आईतवार ०५:३३
काठमाडौं, असोज ११ । खेतीयोग्य जमिनलाई कित्ता काट गर्न नसक्ने गरी २०७४ सालमा भएको निर्णय र सो निर्णयलाई उल्ट्याउने गरी गत भदौ १८ गते भएको निर्देशनात्मक आदेशसहितका सक्कल फाइल पठाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

फाइल फोटो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खेतीयोग्य जमिनलाई कित्ता काट गर्ने गरी भएको निर्देशनात्मक आदेश र सो आदेशभन्दा अघिको कित्ताकाट गर्न नसक्ने गरी भएको निर्णयको सक्कल फाइल पठाउन दुई दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आदेश दिएको हो ।

सरकारले २०७४ साल साउन २६ गते खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न नपाउने गरी रोक लगाएको थियो । त्यसपछि भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गतेको निर्णय भनी २०७४ सालमा भएको सो निर्णयलाई हटाएको थियो ।

सरकारले गैरसंवैधानिक र गैरकानुनीरुपमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न अनुमति दिएको उल्लेख गर्दै अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेद्वारा संयुक्तरुपमा रिट निवेदन दायर गरेका थिए ।

सो निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले भदौ १८ गतेको निर्णय हाल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चले गत भदौ १८ गते खेतीयोग्य जमिनलाई कित्ताकाट गर्ने गरी भएको निर्णय यही असोज ८ गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।सोबमोजिम असोज ८ गते बसेको प्रधानन्यायाधीश जबरा र न्यायाधीश सिन्हाको संयुक्त इजलासले सोसँग सम्बन्धित विषयको सक्कल फाइल मगाएको हो ।

भूमि उपयोग ऐन, २०७६ को दफा ८ मा एउटा प्रयोजनका लागि छुट्याइएको जमिनलाई अर्को प्रयोजनका लागि प्रयोगमा ल्याउन नहुने उल्लेख गरिएको छ ।सो ऐनको दफा ४ मा जमिनको वर्गीकरण १० प्रकारले गरिएको छ । दफा ५ मा ऐन प्रारम्भ भएको एक वर्षभित्र प्रत्येक स्थानीय तहले भूउपयोग नक्सा तयार गरी वा गर्न गर्न लगाउनुपर्ने उल्लेख छ ।


Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु