नेपालमा प्याजको अभाव हुने ।

२०७७, ३० भाद्र मंगलवार ०५:३२

काठमाडौँ ।  भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको अभाव हुने भएको छ। नेपाल राष्ट्रिय तरकारी तथा फलफूल व्यवसायी महासंघका प्रमुख खोमप्रसाद घिमिरेले नेपालमा ठूलो मात्रामा भारतबाट प्याज आउने भएकाले भारतले नै प्रतिबन्ध लगाएमा नेपालमा स्वतः रुपमा प्याजको अभाव हुने बताए।

नेपालमा भारत तथा चीनबाट प्याज आयात गरिन्छ। भारतले प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर कोरोना भाइरसका कारणले चीनबाट प्याज आयात गर्न सहज नभएको उनले बताए।

उनले भने, ‘नेपालमा ठूलो परिणाममा भारतबाट प्याज आउँछ। भारतले कहिलेसम्म प्रतिबन्ध लगाएको थाहा छैन। अर्को हाम्रो आयात गर्ने मुलुक चीन हो। तर कोरोना महामारीका कारणले त्यति सहज छैन।’

उनका अनुसार प्याजको अभाव मात्र नहुने भएर यसको मूल्य पनि बढ्छ। कठमाडौँ उपत्यकामा मात्र दैनिक करिब ५० टन प्याज खपत हुने उनले जानकारी दिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु