प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती

२०७७, २४ भाद्र बुधबार १०:३८

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती । विभिन्न कार्यक्रम गरी वीपीको जन्मजयन्ती देशभर मनाइने भएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा विक्रम संवत २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो ।

दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क्रियाशील छ ।

क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–काँग्रेस सरकारमा बिपी गृहमन्त्री बनेका थिए ।

२०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

उनको प्रधानमन्त्रीत्व कालमा बिर्ता उन्मूलन गरी भूमिसुधार कार्यक्रम लागू भएको थियो । तर विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायतका नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।

सुन्दरीजल बन्दी गृहमा राखिएका विपी विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका उनको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

Comments

ताजा खबर