घर पुरिँदा २० वर्षीया किशोरीको मृत्यु

२०७७, २३ भाद्र मंगलवार १२:१५

अविरल वर्षासँगैको पहिराका कारण घर भत्किँदा जिल्लाको रुपा गाउँपालिकामा आज एक किशोरीको मृत्यु भएको छ । रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४:२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

घरभन्दा अन्दाजी ५० मिटर माथिबाट आएको पहिराले घर पुरेको थियो । परिवारका अन्य सदस्य भने भाग्न सफल भएकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिरचोक तथा इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा शव बाहिर निकालिएको थियो ।

शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइँदै छ । पहिराले स्थानीय हरिराम विक, चूडामणि सुनार र माया विकको घर जोखिममा रहेकाले उनीहरुलाई अन्यत्र व्यवस्थापनको तयारी गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

Comments

ताजा खबर