रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई रोजगारी दिने ।

२०७७, १७ भाद्र बुधबार १०:१६

 

काठमाडौं ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो। १५ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई  श्रममूलक कार्यमा लगाई सय दिनको रोजगारी दिन थालिएको कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले जानकारी दिए। सरकारले बेरोजगार युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।     

घरपरिवारमा कोही पनि सदस्य रोजगार नभएकालाई उक्त कार्यक्रममार्फत दुई लाख जनालाई रोजगारी दिन थालिएको घिमिरेले बताए। सरकारले चालु आवमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी प्रदान गर्ने भएको छ।   

उनका अनुसार स्थानीय तहबाट छनोट गरिएकाहरूले मर्मतसम्भार आयोजना र सामुदायिक पूर्वाधारका २० आयोजनामा  श्रम गर्नेछन््। रोजगारीको अवसर सिर्जना गर्न, स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्न र स्थानीयवासीको पूर्वाधारमा निर्माणमा अपनत्व बढाउन उक्त कार्यक्रम ल्याइएको हो।

Comments

ताजा खबर