कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीले ज्यान गुमाए

२०७७, १५ भाद्र सोमबार २०:०९

काठमाण्डौं । बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय कमलेस सहनीको कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो । प्रजिअ कटुवालका अनुसार उनको उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो । उनी स्थानीय निजि स्वास्थ्य संस्थामा कार्यरत हेल्थ असिस्टेन्टको रुपमा कार्यरत थिए ।

स्थानीय जनताको उपचारमा खटिने क्रममा उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । क्लिनिक सञ्चालन गरि समस्या परेकाहरुलाई घरमै पुगेर सहयोग गर्ने क्रममा कोरोना संक्रमण भएको हुन सक्ने स्थानीयले शंका गरेका छन् । स्वास्थ्यकर्मी सहनीको श्रीमतीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको र परिवारका अन्य सदस्यको रिपोर्ट आउन बाँकी रहेको छ ।
मनरा सिसवा नगरपालिकाका सूचना अधिकारी आलोककुमार सहनीका अनुसार मृतक कमलेस सहनीको तीन दिन अगाडी ज्यान गएको थियो । ज्यान गएपछी उनको स्वाब लिईएकोमा सोमबार कोरोना संक्रमणको पुष्टि भएको हो । ज्यान गुमाएका सहनीको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Comments

ताजा खबर