भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा

२०७७, १४ भाद्र आईतवार १२:१६

भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन सञ्चालनमा आएको हो ।

आज आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइसोलेसनको शुभारम्भ गर्दै कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महानगरपालिका भित्रका सङ्क्रमितहरुलाई पहिलो प्राथमिकतामा राखिने र आवश्यकताका आधारमा विस्तार गर्दै लगिने छ ।” प्रमुख दाहालले चितवनमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले सङ्क्रमितको व्यवस्थापनका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकाले प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर आइसोलेसन सञ्चालन गरेको हो । यहाँको मर्मतसम्भार, खाना खर्च सबै महानगरले व्यहोर्ने छ । आन्तरिक व्यवस्थापनसँगै योग, ध्यान, आवश्यक उपचार चिकित्सालयले गर्नेछ भने अन्य प्राविधिक पक्षमा भरतपुर अस्पतालले सहयोग गर्नेछ । चिकित्सालयमा कोरोना सङ्क्रमितका लागि छुट्टै ब्लक स्थापना गरिएको छ । सो ठाउँमा रहेका पाँच घरमा रहेका कोठाहरुलाई व्यवस्थित गरी आइसोलेसन बनाइएको छ ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाले कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकाहरु प्राकृतिक विधिवाट उपचार गरिने बताउनुभयो । उहाँका अनुसार आइसोलेसनमा बस्नेहरुलाई प्राकृतिक खानपान र नियमित योग, ध्यान र व्यायाम गराइने भने मनोरन्जनको पनि विशेष ख्याल गरिनेछ ।

सामान्य लक्षण देखिएका पहिलो तहका बिरामीलाई सो आइसोलेसनमा राखिन्छ । आइसोलेसनमा १५ जना स्वास्थ्यकर्मी खटिनेछन् । प्रदेशसभा सदस्य विजय सुवेदीले आइसोलेसन व्वयस्थापनका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने बताउँदै जिल्लामा यस्ता आइसोलेसन केन्द्रहरु अन्यत्र पनि स्थापना गर्न पहल शुरु गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल , प्रदेश सांसद विजय सुवेदी, घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीलगायतको उपस्थिति थियो । पूर्वी चितवनका चार नगरपालिकाले रत्ननगर र माडीले वडा नं ५ मा आइसोलेसन बनाइसकेको छ । दोस्रो र तेस्रो तहका सङ्क्रमितलाई भने भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा उपचार गरिने व्यवस्था मिलाइएको छ ।

चितवनमा आजसम्म सङ्क्रमितको सङ्ख्या ६२६ पुगेको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सङ्क्रमित भएका छन् भने इच्छाकामनामा सबैभन्दा कम छन् ।

Comments

ताजा खबर