नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

चुलो निभाएर खोजिएको कोरोनाको रोकथाम

२०७७, १३ भाद्र शनिबार ०९:४२

मित्रलाल सापकोटा । हिजो भदौ ११ गते देश बन्द भएको पुरै पाँच महिना पुग्यो । दुईजनामा संक्रमण देखिँदा बन्द गरेको देश आज झण्डै पैतिस हजार जनामा संक्रमण तथ्याङ्क बनाएर महात्रासको शिखरमा पुगेको छ । एक सय पचासी जनाको मृत्यु कोरोना संत्रासको माध्यम बनेकोे छ । यी पाँच महिनाका महाप्रचारहरु र गरिएको भनिएका महाप्रयासहरुले कोरोनाको प्रवेश कुनैपनि ठाउँमा प्रतबन्धित हुन सकेन । पाँच महिनामा एक सया सत्तरी जनाको ज्यान गएको तथ्यांकले कहिँ कुनैपनि अर्थमा महामारी भन्न सकिन्छ या सकिँदैन तर पनि यसलाई महामारीको संत्रास बनाएर जनताको अहिेलकति भएको आन्तरिक शक्तिमा छेदन गर्न कुनै बाँकीताँकी राखिएको छैन । सरकारको ढुकुटीको जोहो गर्ने कार्यालय देखि न्यायघरसम्म, कैदीघर देखि अख्तियारसम्म, कहिँ कतै चाहर्न बाँकी राखेन कोरोनालेे ।

यो बन्दाबन्दीको डण्डाले कोरोनाको यात्रालाई छेक्न र रोक्न पनि सकेन । गरिखाने जनताका पाइलाहरुमा साँङ्लो र तालाचाबी लगाइएता पनि देशका कुनाकुनामा पुग्न दामपैसो चडाएर या पहुँचको भरमा कोहि कसैलाई रोकिएन । केहि चुनिन्दा व्यापारीहरुको उपभोक्ता माथिको बज्रपातमा कतै पनि कन्जुस्याइँ भएन । यसपटक आएको बर्षाको महाविपत्ति र यसबाट गएका झण्डै तीन सय जना बढि जनताको ज्यानको यो कोरोनाको संत्रासको हुटहुटीमा कुनै मूल्य नै रहेन । पैरो पर्यटनमा तमासा हेर्न लाम लागेका पार्टीका नेताहरु, सरकारी अधिकारीहरुको हेलिकप्टरको ट्राफिक जाममा पनि जनताको उद्दारले महत्व पाएन । किसानले अनेक जोहो गरेर रोपेका धानमा हाल्ने एकमुठ्ठी यूरियाको व्यवसथा त भएन बरु कहिँ कतै पारीबाट जोहो गरि ल्याएको एक बोरा मल र साइकल जफत गरेर प्रहरीले निकै बहादुरी गरेको प्रचार गरेर ट्रकका ट्रक बीना भन्सार रातारात भित्रिएका सरसमानहरुलाई नजरअन्दाज गरिएको छ ।

आफ्नो सबै भिटीझाम्टा बन्धकी राखेर झण्डै करोड करोड मूल्य हालेर किनेका बसहरुमा बर्षे सर्पहरुको बास भएको छ भने बसहरु खिया लागेर कबाडमा बिक्री गर्ने अवस्था आएको छ । के कनै स्वरोजगार बन्दै गरिखान्छु भनेर थालेका हजारौं नीजि विद्यालयहरु टाटपल्टेका छन् । अब खुलिहाले पनि उठ्नसक्ने अवस्थामा धेरै विद्यालयहरु हुने छैनन् । देशमा सञ्चालित झण्डै दश हजार मध्ये पाँच हजार नीजि विद्यालयहरु त बन्दको संघारमा पुगेका छन् । यसबाट सत्तासीन पार्टीले देखेको लूटेराका दोकान बन्द हुन लागेकोमा नेता कार्यकर्ता मख्ख देखिन्छन् ।

निकै तामझामसँग शुरु भएको भ्रमण बर्ष लक्षित होटल पर्यटन व्यवसायहरुको झिटीझाम्टा बेचेर पनि नपुग्ने भएको छ । हिजो संसारलाई नेपालमा घुमाउँने रहर बोकेर आफ्नो सबथोक लगाएकाहरु अब आफै कता कुन देशमा काम खोज्न घुम्ने हो ठेगान छैन । विदेश गएर कमाउँला र घरव्यवहारको मेसोमेलो मिलाउँला भन्नेहरु आफै बेखर्ची भएर खान नपाएर उतैतिर बराल्लिन र घरआउने प्रतिक्षामा एम्बेसी र एयरपोर्टका ढोकामा घुँडा टेक्न बाध्य छन् । कमाउने मुख्य उद्देश्यका साथ विद्याथीको नाम पारेर डलर कमाउदेश छिरेकाहरुलाइ नेपालबाटै बाआमाले पैसा पठाएर पाल्न परेको छ । यहाँ कहिँ कतै निम्न तथा मध्यमवर्गीय नेपालीको मुखमा माड र पूँजी संरक्षणको कुनै योजना नै आएन ।

यति हुँदा हुदै पनि कोरोनाका कारण नेपालमा केहि पनि नभएको भने होइन । त्यसो भन्यो भने केहि अन्याय पनि हुनसक्छ । यहाँ्को श्रोत र साधन मात्रै होइन आफ्नो सोंचको विवेकको कमिका बावजूद पनि छिमेकीको नक्कलको आधारमा बन्दाबन्दीको तूफानी लडाइँ भएको छ जुन आजपर्यन्त पनि विभिन्न रुपमा जारी छ । तथापि छिमेकमा यसको स्वरुप फेरिएको छ । देशका ७६१ वटा सरकारले बन्दाबन्दीका गरालो तेर्साउन कहिँ कतै कमीकमजोरी पक्कै पनि गरेनन् । झण्डा बोक्दै एक पोको चामल बोकेर राहतका फोटो खिचाउने महाप्रतिष्पर्धामा पनि कुनै कमि कमजोरी भएन । मरेका लाश विर्सजन गर्न बाटो छेकेर गरिने तमाशा पनि मनग्य भएका छन् । कोरोनाको अग्रपंङ्तिमा खटेका स्वास्थ्यकर्मीको घरमा ब्यानर टाँसेर वा घरबाट निकालेर महान बन्ने टोले नेताको कर्तुतहरु पनि राम्रै काम भएका होलान् । कोरोन्टाइन आइसोलेशन आदी इत्यादीको नाममा गद्दा तन्ना सिरानीको व्यापार पनि राम्रो भएको भनि निकै प्रशंसायोग्य काम भएको नै सुनिएको छ । राज्य ढुकुटीबाट सत्ता वरीपरीका र पहुँचवालाहरुका आफन्तका कोरोना जाँच कोटा नै छुट्टाएर भएका खबरलाई पनि कामै नभएको भन्न मिल्दैन ।

विभिन्न टारहरुका अनगिन्ती बैठकहरु, विभिन्न निवासतिरका दबाब र रवाफमा भएका दौडहरु र छलफलहरु, कुर्चीबाट तान्ने र चप्किने शुत्रहरुको अध्ययन अनुसन्धानहरु र दल कार्यदल नै बनाएर कुर्सीयोजना का तानाबानाहरु, भागबण्डाका प्रतिवेदनहरु जस्ता महान कार्यहरु पनि भएकै छन् । सत्ताका पिँढीहरुमा प्याकेजमा मिलापत्र देखि प्याकेजमा सेवासुविधा वृद्धिका कामहरु पनि भएका छन् । यति धेरै कामहरु हुँदा केहि कुराको कहिँ कतै कमी राखिएन । यसका लागि हाम्रा नेताहरुलाई साधुबाद किन नदिने ?

काम त अरु पनि थुप्रै भएका छन् यहाँ । जनताका बिग्रेका नियतहरुलाई ठ्याक्कै देखेर लौ अब सुधार गर है भनेर देशका ओखती मुखियाले उपाय पनि सुझाएका छन् । जनताका आँखामा परेको मोतीयाबिन्दु पनि ठ्याक्कै पत्ता लगाए यो पनि अति नै महान काम नै मान्नु पर्छ । अझ अर्को महान काम ती मोतीबिन्दु भएका आँखाले नदेखेको त विदेशका हवाइअड्डामा घर फर्कन व्यक्तिगत रुपमा चर्को भाडाको रकम खर्चेर घण्टौं प्रतिक्षा गरेकाहरुलाई आफ्नै देशको राष्ट्रिय ध्वजाबाहक चिलगाडीले नलिइकन फनक्क फर्कन दिइएको आदेशको हो । यसको त यहाँ जति प्रशंसा गरेपनि कमै हुनसक्छ । जनताको सञ्चोबिसन्चोको निकै चिन्ता गरेर हाम्रो सरकारले बेपर्वाह मूल्य तिरेर अरुले के गर्लान के गर्लान भनेर आफ्नो भरपर्दो मान्छे मार्फत जाँच गर्ने वस्तु र कोरोनाको छेकबारका बन्दोबस्ती आयात गरेको काम पनि गजब प्रशंसनीय नै छ । देशको बैंकको चाबी अरुलाई दिँदा के होला के होला भनेर आफ्ना सम्धीलाई नै दिनु त झनै भरपर्दो र सुझबुझ कै काम मान्नु पर्छ । यस्तो महामारीको बेला अर्काको जिम्मा दिँदा के हो के भनेर निकै अनुभवी आफन्तहरुलाई बिभिन्न निकायमा नियुत्त गरेर देश बचाउने काम गरेको पनि नदेख्ने जनताका आँखामा मोतियाबिन्दु नै परेको भन्ने थाह पाए यो पनि अति नै प्रशंसनीय काम हो । हामीलाई पाँच महिना देखि हात मात्रै धोउ भनेको भनेइ छन् तर त्यो धोएको हातले खाने के हो त्यो भन्न भ्याएका छैनन् यो पनि कम ठूलो काम भएको मान्न सकिन्न ।

बल्लबल्ल हुँदा खाने जनताका छाकहरुको र बेलाबेलाको बिदाबारीको कथा भनि सक्नु नै छैन । कोरोनाको शंका कै भरमा क्वारन्टाइन बस्दैमा समाजमा मर्दापर्दाको आफन्त, जिउँदाको जन्ती मर्दाको मलामी भएकाहरुबाट नै छिछि र दूरदूर गरेर उनका परिवारलाई पसलमा समान लिन जाँदा समेत समान दिन अस्वीकार गर्ने र ‘तँ जान्छेस कि लखेटौं’ भन्नेहरु देखि कोरोनाको अग्रपङ्तिमा रहेका डाक्टरका घरमा समेत एउटा जमातबाटै ब्यानर टाँङ्ने टोले नेता दखि डेराबाट निकाल्ने सम्मका कामहरु पनि भएका छन् । कहिँ कतै विदेशतिर अलपत्र त कतै हजारौं किलोमिटरका पैदल यात्राहरु, कतै आफ्नै देशभित्रका कुनाकन्दराबाट सुदुरपूर्वबाट सुदूरपश्चिमसम्म लालाबाला सहित बोकेर हिँडेका राजमार्गका लस्करहरुका बीचमा भोक र प्यासले आकुल बनेका जिन्दगीहरु दया र करुणा भन्दा पनि कोरोनाको बाटो छेकेका महान कार्यहरु पनि राम्रै भएका छन् ।

जताततै मिचिमिची हात धोऔं मात्रै भन्ने सन्देशहरु । आफन्तसँग खबरदार भेट नगर भन्ने हुँकारहरु । जनताका पीडामा तथानाम कुरा काटेर, दुःखमा हाँसेर हिँडेपनि, त्यो थुतुनो छोपेर हिँड्नै पर्ने उर्दीहरु । जीन्दगी भरी लगाएर कमाएका मलामीहरुको अनुपस्थिती र मरेको लाशलाई बेरेर घिसार्दै लगेर आफ्नो परापूर्वकाल देखि चलेको धर्म सँस्कृतिले सिकाएको सतगत् गर्ने र दागबत्ति दिएर जलाएको अस्तु बगाउने विधिमा लागेको प्रतिबन्धले गाडेर अभिशप्त भएका ती आफन्तका लाशहरुको सम्झनाले पोलेका मुटुहरु । डर र त्रासको बिकराल राक्षसी वातावरणले मलिन बनेका ती घरघरका अनुहारहरु । कहाँ अब के हुन बाँकी छ र ? कहिँ कतै पनि कुनै कुराको पनि चुलो बलेको छैन । यसले निम्त्याएका खाल्टाहरुमा पुरिएका भोक र प्यास मेटाउने सपनाहरु आज बिउँझने अवस्थामा छैनन् । मानौं यस्तो भएको छ मर्न गएको मान्छेको अगाडी पट्टि धर्तीलाई चिर्दै उर्लेको नदी र पछाडीबाट लखेटि रहेको चितुवाको चाल झैं भएको छ । न समाउने हाँगो छ न टेक्ने डालो । तीजका दरहरु र दिदीबैनीका छमछमहरु बिर्सेर, भगवानका फूलप्रसादहरु रोकेर, देश नै एउटा कैदखाना बनाएर, रोगको प्रकोप भन्दा पनि भोकको प्रतापले ज्यान हतेलीमा राख्दै यो अवस्था बनाएर पनि लगाएको फलामे ढोकाबाट त्यो कोरोना भन्ने भाइरसलाई रोक्न सकिएन भने पनि त भएन नि । यति गरेर त यो कोरोनालाई रोकथाम गरेको हो भन्ने हामीले बुझ्न पनि कन्जुस्याइँ गर्ने त ? चुलो त के चिन्ता भयो र मेरो निभेको छैन मेराको पनि निभेको छैन । आम जनताको निभेको रहेछ भने चिता नउठे फेरि बालौंला र निभेकै चुलो बाल्न पनि समय लाग्छ तर कोरोना पर्खिदैंन त यसको रोकथाम त हुनै पर्छ । होइन र ?

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु