मेसीले गरे बार्सिलोना छाड्ने निर्णय

२०७७, १० भाद्र बुधबार ११:३०

अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले मंगलबार बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन् । उनले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका हुन् ।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने मनसायमा पुगेका थिए ।

६ पल्टका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन् । बार्सिलोना भने अनुबन्ध अनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको मान्छ । बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नु पर्ने सर्त रहेको मान्छ । मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्दैछ ।

मेस्सीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग भेटघाट गरेका थिए । त्यसबेला नै उनले आफू लामो समय क्लबमा नरहने प्रष्ट पारिसकेका थिए । क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेस्सीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएको बुझिएको छ ।

Comments

ताजा खबर