भगवती रथयात्रा औपचारिकतामा सिमित हुँदै, यस बर्ष बजार परिक्रमा नहुने

२०७७, २८ श्रावण बुधबार ०७:२७

पाल्पा । दुई शताब्दीको इतिहास बोकेको भगवतीको रथयात्रा औपचारिकतामा मात्रै सिमित हुने भएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यो वर्ष मन्दिर परिक्रमा गरी मन्दिर परिसरमै सामान्य रुपमा भगवतीको परिक्रमा गराइने भएको छ । यो बर्ष मनाइने जात्रा २ सय २ औं श्रृंखला हो । ऐतिहासिक जात्रालाई निरन्तरता दिन मात्र यस बर्षको रथयात्रा औपचारिकतामा सिमित गरिने भगवती मन्दिर ब्यवस्थापन (गुठी) समितिले जनाएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको आह्वान र जिल्ला स्तरीय बैठकको निर्णयले यस वर्षका सबै जात्राहरु औपचारिकतामा मात्रै समित हुने भएका हुन । अघिल्लाहरु बर्षहरुमा जस्तो यो बर्ष रथको बजार परिक्रमा हुँदैन । जात्रा बुधबार बिहान ११ बजेसम्म सर्वसाधारण नागरिकहरुका लागि सामाजिक भौतिक दुरी कायम गरेर मन्दिरको दर्शन गर्न पाउने ब्यवस्था मिलाइएको छ ।
रथ यात्राको अघिल्लो दिन भगवतीको जाग्राममा पाल्पाली नाट्य कला सास्कृतिक समूह तानसेनले सामाजिक दुरि कायम गर्दै मन्दिर परिसरमा निकालियेको लाखेनाच प्रदर्शन गरेको थियो ।

फाइल फोटो : भगवती मन्दिरमा रथयात्रा, तानसेन पाल्पा,

यस्तो छ भगवती जात्राको इतिहास
बीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा हरेक बर्ष हुँदै आएको छ । यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।
विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय २ वर्ष अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।

अंग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ । लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा कर्णेल उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ । यो दिनलाई पाल्पाको एउटा महत्वपूर्ण पर्वको रुपमा समेत लिइन्छ ।
यो बर्ष बाट प्रदेश नम्बर ५ सरकारले पाल्पा जिल्लाभर सार्बजनिक बिदा समेत दिएको छ ।

Comments

ताजा खबर