निस्दीमा जीप दुर्घटना २ को मृत्यु ६ जना घाइते

२०७७, २७ श्रावण मंगलवार २२:३०

पाल्पा । निस्दी गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीपमा सवार २ जना यात्रुको मृत्यु भएको छ । एक जनाको घटनास्थलमा र एक जनाको उपचारकाका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक लक्ष्मी प्रसाद पन्थीले जानकारी दिए ।
निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जीप मंगलबार साँझ करिब साढे ५ बजे दुर्घटनामा परेको थियोे । गल्धाको पटकसर नजिकै जीप दुर्घटना भएको थियोे । गाडीका चालक सहित १० जना सवार रहेका थिए ।
दुर्घटनामा परि घाइते हुनेहरुमा निस्दी ५ गल्धा पटकसरका ३८ वर्षीय सुमित्रा सारु, ३६ वर्षीय सेरमती सारु, २० वर्षीय लक्ष्मी सारु र ३७ वर्षीय तिलकुमारी सारु रहेका छन । यस्तै निस्दी ४ मित्याल झ्यालटुङका २५ वर्षीय सृजना गाहा र निस्दी ४ मित्यालका २२ वर्षीय विष्णु माया सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइतेहरुको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । बर्षातका कारण बाटो भास्सिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त सडकबाट करिब २ सय मिटर तल रहेको छ । गाडी क्षतविक्षत अवस्थामा रहेको छ । गाडी दुर्घटना पछि  फरार भएका चालकको खोजीकार्य भइरहेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम तानसेन देखि ६५ किलोमीटर टाढा रहेको छ ।

Comments

ताजा खबर