जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा

२०७७, २१ श्रावण बुधबार ०९:४९

इस्लामाबाद – पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, ‘आज इतिहासको सबैभन्दा महत्वपूर्ण दिन हो । हामीले पाकिस्तानको नयाँ राजनीतिक नक्सा विश्वसामु प्रस्तुत गरेका छौं ।

उनले अवैध रुपमा भारतले कश्मीर आफ्नो नक्सामा समेटेको समेत दावी गरे । प्रधानमन्त्री खानले यो नक्साले भारतले गत अगस्ट ५ मा जारी गरेको नयाँ नक्सालाई पनि खारेज गर्ने दाबी गरेका छन् । उनले भने– ‘भारतले गत वर्षको अगस्ट ५ मा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, त्यसलाई यो राजनीतिक नक्साले खारेज गरिदिएको छ ।’ खानका अनुसार अब पाकिस्तानका सबै स्कुल, कलेज र कार्यालयहरुमा मंगलबार जारी गरिएकै नक्सा प्रचलनमा आउनेछ ।

मंगलबार साँझ भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हामीले पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको तथाकथित राजनीतिक नक्सा हेर्यौँ । यसमा भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेशहरु जम्मू–कश्मीर लद्दाखको भूमिमाथि आधारहीन दाबी गरिएको छ । जुन राजनीतिक मुर्खताले उठाइएको कदम हो ।

भारतले गत वर्ष जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि समेटेको थियो । भारतले आफ्नो राजनैतिक नक्सामा नेपाली भूभाग समेटेपछि नेपालले पनि भारतद्वारा अतिक्रमित भूभागलाई आफ्नो नयाँ राजनैतिक तथा प्रशासनिक नक्सामा समेटिसकेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु