सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने , सुरुवात किपु बस सेवाबाट हुँदै ।

२०७७, १६ श्रावण शुक्रबार १९:१२

काठमाडौं । अबदेखि सार्वजनिक यातायातमा बैंकको कार्डबाट भुक्तानी गर्न सकिने भएको छ । एनएमबि बैंकले यातायात जगतमा डिजिटल भुक्तानी च्यानल प्रबद्र्घन गर्न एन–क्लाउड प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार सम्पर्करहित कार्ड र पीओएस टर्मिनलका माध्यमबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु हुनेछ । कोभिड–१९ को प्रतिकुल परिस्थितिमा संक्रमण रोक्ने प्रयासस्वरुप यो समझदारी गरिएको हो । यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटलाइसन तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको बैंकको दाबी छ ।

बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरसँग पनि सहकार्य सुरू गर्ने दाबी गरेको छ ।

परियोजनाको सुरुवात किपु बस सेवाबाट हुनेछ जहाँ यात्रुहरूले बस भाडा बैंकको कार्ड प्रयोग गरी सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् । किपु यातायात किर्तिपुरबाट राजधानीका विभिन्न स्थानसम्म चल्छन् ।

यसबारे समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायण श्रेष्ठले हस्ताक्षर गरे ।

Comments

ताजा खबर