साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक |

२०७७, १६ श्रावण शुक्रबार ०९:३०

गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो ।

उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले प्रवेशमा रोक लगाएको हो । नाकाहरुमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यकता परेको भन्दै गृहले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा र ढुवानीका साधन बाहेक अन्य सवारी प्रवेशमा रोक लगाएको छ ।

उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो ।

दिउँसोको समयमा भने सवारी पास लिएका मानिस आवत–जावत गर्न सक्ने गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । ‘साँझ ७ बजेदेखी बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा पूर्ण रुपमा बन्द गर्न गरिएको छ’ सह–प्रवक्ता अधिकारीले भने–‘दिउँसो चाहिँ पास लिएका यात्रु आउन जान पाउँछन् ।’

मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना

Comments

ताजा खबर