दमौली-डुम्रे सडक सञ्चालनमा , साना सवारीसाधन आवतजावत ।

२०७७, ९ श्रावण शुक्रबार १८:३९

दमौली। बिहीबार रातिदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्डमा आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएको छ।

बन्दीपुर गाउँपालिका-१ नाहालामा सडक भासिएपछि निर्माण गरिएको वैकल्पिक मार्गमा फसेका सवारीसाधन निकालेपछि साना सवारीसाधन आवतजावत हुन थालेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले सडक अवरुद्ध भएपछि रोकिएका साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको जानकारी दिए। “वैकल्पिक मार्ग हिलाम्य भएकाले ठूला सवारीसाधन फसेर बाटो अवरुद्ध भएको थियो, त्यसलाई हटाएपछि अहिले साना सवारीसाधन सञ्चालनमा आएको छ,” उनले भने, “ठूला सवारीसाधन अझै सञ्चालन हुनसक्ने अवस्था छैन।”

सो मार्ग मर्मत गर्नका लागि आज र भोलि ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ। सो ठाउँमा एक ठाउँबाट जाने र अर्को ठाउँबाट आउन मिल्ने गरी सडक मर्मतको काम शुरु गरिएको छ। प्रहरीका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालवाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ।

निरन्तर परेको वर्षाका कारण मङ्‍गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ। बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भासिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिए।

Comments

ताजा खबर