तरकारी खेतीमा प्रविधिको प्रयोग बढ्यो

२०७७, ९ श्रावण शुक्रबार १४:३२

किरण कौशल, पाल्पा l जिल्लामा तरकारी खेतीमा प्रविधिको प्रयोग बढ्न थालेपछि पाल्पाका किसानहरुले काम लागतमा बढी उत्पादन लिन थालेका छन् । प्लाष्ट्रिक टनेल भित्र, प्लाष्ट्रिक मल्चिङग, थोपा सिंचाई प्लाष्ट्रिक पोखरी, साना सिंचाई लगायतका उन्नत प्रविधिको प्रयोग गरेर गोलभेडा सहित अन्य तरकारी खेती गर्न थालेका छन् ।

उन्नत प्रविधिको प्रयोग गरेर तानसेन नगरपालिका, वगनासकाली र तिनाउ गाउँपालिका भित्रका किसानहरुले गेलभेडा, काउली, बन्दा, ब्रोकाउली, सिमी, कांक्रो, मुला, खुर्सानी, साग र भन्टा तरकारी उत्पादन गरिहेका छन् ।

तरकारी उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) ले प्रविधिको प्रयोग र विस्तारमा जोड दिएको छ । ५ हजार ६ सय किसानहरुको सहभागिता रहेको परियोजनाबाट २ सय २३ समूहहरु लाभान्वित भएका छन् । बाली उपचार, स्थलगत तालिम, माटो परिक्षण, प्राविधिक सहयोग र उत्पादन राम्रो भएपछि किसानहरुले लगानी र खेती समेत विस्तार गरेका किसान डिल बहादुर थापाले बताउनु भयो ।

आर्थिक बर्ष २०७३÷०७४ बाट शुरु भएको कार्यक्रमबाट कृषि यान्त्रिकरण, व्यवसाकिरण र प्रशोधन गरी आधुनिक कृषि प्रणालीको विकासमा जोड दिएको छ । सिंगल क्याब पिकअप जिप, नाप तौलका सामग्री, संकलन केन्द्र स्तर उन्नती, तरकारी प्याकिङ काटुर्न, ३ सय ६ वटा प्लाष्ट्रिक पोखरी निर्माण, १८ स्थानमा थोपा सिंचाई प्रविधि विस्तार, साना सिंचाईका १ सय ७९ योजना निर्माण, १ सय ५० हेक्टरमा उत्पादनमा आधारित अनुदान वितरण र ६ सय १६ प्लाष्टिक घर निर्माण र ४ सय ७ रोपनीमा जग्गा भाडामा लिएर तरकारी खेती गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत दिपक भट्टराईले बताउनु भयो ।

Comments

ताजा खबर