पहिरो अपडेट – सिद्धार्थ राजमार्गमा पुन: पहिरो, खुलेको ३ घन्टा नबित्दै अबरुद्ध

२०७७, ४ श्रावण आईतवार २२:००

पाल्पा । पहिरो पन्छाएर एकतर्फी खुलेको सिद्धार्थ राजमार्ग तीन घन्टा नबित्दै पुन: अबरुद्ध भएको छ । शुक्रवार राती देखि अबरुद्ध भएको राजमार्ग ४३ घण्टा पछि आइतबार अपरान्ह ५ बजे खुलेको थियो । तानसेन ८, गौडेपुल नजिक खसेको पहिरो रोकिएपछि यातायात सुचारु भएको थियो । अहिले साेही स्थानमा पहिराे गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेका अनुसार आइतवार साँझ सवा ८ बजे फेरी पहिराे गएर पूर्ण रुपमा बाटो अबरुद्ध भएकाे छ । शुक्रवार रातीदेखि परेकाे पानीकाे कारण र पहिरो हटाउन नसक्दा राजमार्ग अबरुद्ध बनेको थियाे । माथिबाट खसेको पहिरोले राजमार्गको बेसलाइन नै बगाएको सडक कार्यालय पाल्पाले जनाएको थियो ।
राजमार्गको तानसेन बुटवल सडकमा दिनहुँ पहिरो खस्दा जोखिम बढ्दै गएको छ । राजमार्गको गौडेपुल, कालीमाटी, दोभान र सिद्धबाबा क्षेत्रमा दिनहुँ खस्ने पहिरोको कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन ।
चर्को घाम लागेको बेला वा पानी परेको बेला जुनसुकै समयमा निरन्तर रुपमा पहिरो खस्ने गरेकाले यो क्षेत्रमा यात्रा गर्नु निकै जोखिम बढेको छ । अबरुद्ध सडक सुचारु गर्न समय लाग्ने भएपछी प्रशासनले बैकल्पिक बाटो बाट यात्रा गर्न सर्बसाधारण लाई आग्रह गरेको छ ।
अबरुद्ध सडकमा निरन्तर पानी परिरहेको ले रातिमा सडकमा काम गर्न जोखिम हुने भएकाले अबरुद्ध भएको बाटो खुलाउन नसक्ने पाल्पा प्रहरीको भनाइ रहेको छ । सुरक्षालाई ध्यानमा राखेर पाल्पा प्रहरीले राती ८ देखि बिहान ६ बजे सम्म उक्त सडकमा रातिमा यात्रा गर्न रोक लगाइएको थियो ।

Comments

ताजा खबर