मेचीनगरका ४८ मध्ये ४६ संक्रमित घर फर्कीए

२०७७, ३ श्रावण शनिबार १५:००

विर्तामोड जी आर धिताल – मेचीनगरमा आज थप ८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भई घर फर्कीएका छन् ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र आइसोलेशन केन्द्र गोठगाउँ मोरङबाट आज थप ८ जना डिस्चार्ज भई घर फर्कदै गरेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले रेडियो साथीलाई जानकारी दिनु भयो ।

आज ८ जना अस्पतालबाट डिस्चार्ज भएसंगै मेचीनगरमा संक्रमण मुक्त भई घर फर्कनेको संख्या ४६ पुगेको छ । अब मेचीनगरका २ संक्रमित मात्र अस्पतालमा उपचाररत रहनु भएको छ ।

जेठ २६ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको मेचीनगरमा असार १० गते एकैदिन १० जनामा कोरोना संक्रमण देखिएको थियो ।

असार १९ गते सबैभन्दा बढी १४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नगरमा कोरोना संक्रमितको संख्या ४१ पुगेको थियो ।

त्यस्तै हिजो बिहीबार मेचीनगर वडा नं ४ की एक महिलामा थप संक्रमण देखिदा मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या ४८ पुगेको थियो ।

मेचीनगरमा पछिल्लो समयमा बिभिन्न बिद्यालयका क्वारेन्टाइन, सामुदायिक भवनका क्वारेन्टाइन र होम क्वारेन्टाइन एवं होटल क्वारेन्टाइन समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

गत मंगलबार एकैदिन ११ जना र आज बिहीबार थप ८ जना संक्रमित घर फर्कदा मेचीनगरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४६ पुगेको हो । अब २ संक्रमित मात्र घर फर्कन बाँकी छ ।

यद्यपी मेचीनगरमा दैनिक जसो स्वाब संकलन गर्ने कार्य जारी रहेको छ । आज मात्र थप ७९ जनाको स्वाब संकलन गरिंदा हिजो बुधबार ८४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको समिति संयोजक बरालले बताउनु भयो ।

मेचीनगरमा आज सम्मको तथ्यांक हेर्दा २ सय बढीको पीसीआर नतिजा आउन बाँकी रहेको छ ।

 

Comments

ताजा खबर