नेपाल-भारत संयुक्त समिति बैठक बोलाउने निर्देशन,डुबानबारे छलफल हुने

२०७७, ३ श्रावण शनिबार ११:३२

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भारतले सीमावर्ती क्षेत्रमा निर्माण गरेका बाँधले हुने नेपाली भूमिको डुबानबारे दुई देशको संयुक्त समितिमा छलफल गर्न निर्देशन दिएका छन् ।

शुक्रबार मन्त्री पुनले मन्त्रालयका अधिकारीहरूलाई नेपाली भूमि डुबानबारे ’बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल-भारत संयुक्त समिति (जेसीआइएफएम)’ को बैठक बोलाएर छलफल गर्न निर्देशन दिएका हुन् ।

बैठकमा उनले दुई देशबीचको संयुक्त संयन्त्रको बैठक बोलाउन पहल थाल्न भनेका हुन् । मन्त्री पुनले बैठकमा भने, ’बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ । समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक बोलाएर छलफल गर्नुपर्छ ।’

दुवै देशका सहसचिव रहने समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्ने मन्त्रालयले जनाएको छ । नियमित कार्यतालिकाअनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिएका थिए । भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको जानकारी दिएका थिए ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा भारतीय बाँधका कारण नेपालमा बर्सेनि डुबान भइरहेको बताएका थिए । संसदीय समिति बैठकमा उनले त्यसको समाधानका लागि भारतसँग छलफल गर्नुपर्ने बताएका थिए ।

भारतले नेपालसँगको सीमामा समानान्तर हुनेगरी सडक लगायतका संरचना निर्माण गर्दा तराईका अधिकांश जिल्ला डुबानमा पर्ने गरेका छन् ।

Comments

ताजा खबर