मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अझै तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना ।

२०७७, २८ असार आईतवार ०९:०५

काठमाडौ । प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशमा शनिबार (२७ असार) राति भारी वर्षा भएको छ। अन्य प्रदेशमा पनि मध्यम र हल्का वर्षा भएको छ। देशभर अरु तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञानको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नं. १ को इलाम, झापा मोरङ, प्रदेश नं. २ को राजविराज, बागमतीको मकवानपुर र गण्डकी प्रदेशको स्याङ्जामा भारी वर्षा भएको छ। इलाम, मकवानपुर र स्याङ्जामा १०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ। राजविराजमा पनि ९० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। महाशाखाका अनुसार ५० मिलिमिटरभन्दा बढीलाई भारी वर्षा भनिन्छ।

आज पनि प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकीका साथै सूदूर पश्चिमका केही भागमा भारी वर्षाको सम्भावना छ। गत विहिबारदेखि दक्षिण तर्फबाट नेपाल प्रवेश गरेको न्यूनचापीय रेखाका कारण देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले प्रदेश १ र २ मा भारी वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यका अनुसार भारी बर्षाले बाढी र पहिरोको सम्भावना अधिक रहन्छ।  त्यसकारण सचेत रहन आग्रह गरिएको छ।

Comments

ताजा खबर