युभेन्टसद्वारा लेची ४–० ले पराजित

२०७७, १३ असार शनिबार ११:१३

काठमाडौं- युभेन्टसले इटालियन सिरी ए फुटबलको उपाधि होडमा आफूलाई बलियो बनाउँदै लगेको छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्टसले लेचीलाई ४–0 ले पराजित गर्दै दोस्रो स्थानको लाजिओसँगको अंक दूरी सात बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको युभेन्टसले चारै गोल दोस्रो हाफमा गरेको हो । ३१ औँ मिनेटमा फाबियो लुचिओनी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेची १० खेलाडीमा सीमित भएको थियो ।

युभेन्टसका लागि ५३ औँ मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे ।

गोन्जालो हेगुइनले ८३ औँ तथा माथेज डी लिग्टले ८५ औँ मिनेटमा गोल गरेपछि युभेन्टस ४–० ले विजयी भयो । जितपछि शीर्ष स्थानको युभेन्टसको २८ खेलबाट ६९ तथा दोस्रो स्थानको लाजिओको २७ खेलबाट ६२ अंक रहेको छ ।

Comments

ताजा खबर