कोरोना महामारीमा कुवेतबाट नेपालका लागि १२ उडान, १८६९ स्वदेश फर्किए ।

२०७७, १२ असार शुक्रबार ११:२९

कुवेतमा कोरोना महामारीका कारण अलपत्र परेका १८६९ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र नेपाली स्वदेश ल्याउन कुवेतबाट गरिएको १२ वटा उद्धार उडानमार्फत १८६९ जना स्वदेश फर्किसकेको कुवेतस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

दुतावासका अनुसार अहिलेसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक उडान मार्फत ३०४ जना र कुवेतको जजिरा एयरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किसकेका छन् ।

जजिरा एयरमार्फत कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकालाई १० वटा उडानमार्फत स्वदेश फर्काएको दूतावासले जनाएको छ ।आममाफीमा सहभागी करिब तीन हजार रहेको र बाँकीलाई पनि कुवेत सरकारले क्रमश: सबैलाई स्वदेश पठाई रहेको छ ।

आममाफी बाहेक कोरोनाका कारण समस्यामा परेका नेपालीलाई दुईवटा चार्टर्ड उडानमार्फत स्वदेश पठाएको दूतावासले जनाएको छ ।स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका गर्भवती, कोरोना बाहेकका गम्भीर रोगका बिरामी, काजकिरियाका लागि फर्कन पर्नेहरु, अपांगता भएकालगायतका व्यक्तिलाई प्राथमिकतामा राखेर स्वदेश पठाएको दूतावासले जनाएको छ ।

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि सहजीकरण र बिदाई गर्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी आफैं विमानस्थल पुगेका थिए । आज पनि आममाफी पाएका १ सय ५० जना नेपाली फर्कदै छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु