पर्यटनमन्त्री योगेश भट्टराई बोल्दाबोल्दै जुम मिटिङमा जब पोर्न भिडियो बज्यो

२०७७, ८ असार सोमबार १५:३७

सोमबार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सूचारु गर्नका लागि तयार पारेको प्रोटोकल सार्वजनिक कार्यक्रमका लागी प्रविधी मैत्री ‘जुम एप’ छानिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । कोरोना महामारीका कारण मिटिङ जुम एपमा गरिएका थियो । १ बजेदेखि शुरु भएको मिटिङमा वक्ताहरुले आफ्नो भनाइराखेका थिए भने करिब २ बजेतिर पर्यटनमन्त्री योगेश भट्टराई बोल्ने पालो आयो ।

जब मन्त्रीले बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्यो । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए ।

पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो हरकत भएको थियो ।

अनेकन म्यूजिकसँगै पोर्नका साइट भटाभट खुल्न थाले र लगत्तै जुमको च्याट बक्समा नरेन्द्र मोदी र योगेन्द्र अम्बानीका नाममा अश्लिल म्यासेजहरु आउन थाले ।

मिटिङमा देशभरीका पर्यटनमन्त्रीसँगै पर्यटन व्यवसायी, बोर्डका पदाधिकारी तथा पत्रकार गरी २ सयभन्दा बढी सहभागी थिए ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा जुम एपको प्रयोग हुने गरेको छ ।

यस्ता मिटिङमा पछिल्ला समयमा ह्याकरहरुले अनाधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ । यो एप माथि तर सुरक्षा लिएर एपमाथि प्रश्न उठ्दै आएको छ ।

भारत सरकारले त यो एप सुरक्षित नभएको भन्दै प्रयोगबारे गाइडलाइन नै जारी गरेको छ । यसअघि पनि धेरैपटक जुम एप बैठकमा गोपनीयताबारे प्रश्न उठेको थियो ।

सिटिजन ल्याबले जुम एपमा महत्वपूर्ण कमजोरीहरु औंल्याएको छ । उसका अनुसार जुम बैठक प्रयोग गर्दा संवेदनशील जानकारीहरु सार्वजनिक गर्नु सुरक्षित मानिँदैन ।

मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लिल भिडियोहरु बजाउने गरेका छन् ।

यसअघि वर्तमान सरकारका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बासकोटाले इन्टरनेटमा पोर्न साइटहरु नखुल्ने बनाएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु