कोरियाबाट समस्यामा परेका २२८ फर्किए, नेपालबाट २३३ कोरिया गए

२०७७, ६ असार शनिबार १७:१९

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) का  कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपाली कामदार स्वदेश फर्किएका छन्। कोरिएन एअरको विमान केइ ९६९५ बाट उनीहरु शनिबार बिहान नेपाल आइपुगेको गैरआवासीय नेपाली संघले जनाएको छ।

सोही विमानबाट नेपालमै रोकिएका  २३३ जना नेपाली कामदार कोरिया गएका छन्। कोरियाको आग्रहमा सरकारले एक हप्ताअघि नेपालमा रोकिएका कामदार कोरिया पठाउने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात नेपाली कोरिया जान थालेका छन्। केही समयअघि संघले नेपाल वायुसेवा निगममार्फत नेपालमा रोकिएका कामदार लैजाने अनुमति मागेपनि अनुमति नपाएपछि कामदार कोरिया जान पाएका थिएनन्।

गैरआवासी नेपाली संघका अनुसार बिदामा आएका बेला कोरोनाका कारण रोकिएका कामदार लैजाने क्रममा उता समस्यामा परेका नेपाली पनि आउन थालेका हुन्। कोरियास्थित नेपाली दूतावासका अनुसार समस्यामा परेर नेपाल फर्कन चाहने नेपालीको संख्या नौ सय ७२ जना छ। नेपालबाट कोरिया फर्किनुपर्ने नेपालीको संख्या एक हजार तीन सय भएको गैरआवासीय संघले जनाएको थियो। यसअघि ५५ जना नेपाली कोरिया गइसकेका छन्।

कोरोनाका कारण फर्काउनै पर्ने अवस्थामा रहेका करिब २५ हजार नेपालीलाई प्राथिमकताका आधारमा फर्कारहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु