यसकारण गाली गरेको हो राजा महेन्द्रलाई

२०७७, ४ असार बिहीबार ०६:५७

कुनै समय साउथब्लकको कलो खाएर इण्डियागेटतिर पुच्छर हल्लाउँदै करोलबागतिर बस्ने र उसैको एजेण्डालाई कार्यान्नवयन गर्न नेपाली युवायुवतिहरुलाई आपसमा लडाउने कथित क्रान्तिकारीहरु, साउथब्लकका राजदूत र गुप्तचरका कर्मचारीहरुलाई पाँचतारे होटलका अँध्यारा कोठाहरुमा एक्लै एक्लै भेट्नेहरु र इण्डियाका छोटेमोटे नेताहरुका ढोकामा अनुनय विनयको बिन्ती बिसाउने जानेहरुले आजपनि बेला बेलामा राजा महेन्द्रलाई गाली गर्ने र ‘महेन्द्रीय राष्ट्रवाद’ भन्दै गाली गरेर राष्ट्रवादी र पहिचानवादी भएको नाटक गर्ने गर्छन । वास्तवमा यी दुवै थरीका राष्ट्रवादीहरुले यसकारण राजा महेन्द्रलाई गाली गर्छन् कि यिनीहरुसँग आफुले यो राष्ट्रको अस्मिताको रक्षा गर्न, नेपालको सार्वभौमसत्ताको रक्षा गर्न र नेपालीको पहिचान कायम राख्न गरेका कुनै एउटा पनि कर्म छैन । कर्म छ त बस बेला बेलामा साउथब्लकको कलो खाएको या फेरि यूरोपिएन यूनियन र एभेन्जुलिया चर्चको भत्ता खाएको या होलीवाइनको चुस्की लगाउन उर्दी लाउँदै त्यहि चुस्कीमा लाम लाखाएको कर्म । त्यसैले पनि आफुलाई नेपाली माटोमा उभ्याइरहनका लागि र तिनीहरुका प्रभुहरुको इसारामा काम गरिरहन यसो नगरि नहुने उनीहरुको बाध्यता हो त्यो हरेक स्वाभिमानी हामी नेपालीले सहजै बुझ्न सक्छौं । तर पनि राजा महेन्द्रलाई सदनदेखि सडकसम्म र राजनीतिका बैठक देखि समाजिक सञ्जालसम्म गाली गर्नुको कारण के यति मात्रै हो त ?
राजा महेन्द्रले देशभित्र या बाहिर कुनैपनि आधुनिक शैक्षिक संस्थाबाट शिक्षित हुन पाएनन् तर पनि उनको राष्ट्रप्रतिको माया, देश र जनताको चिन्तन, राष्ट्रको अन्तराष्ट्रिय छविको ख्याल, कुटनीति, राष्ट्रिय सम्पत्तिको सुरक्षा, राष्ट्रिय अस्मिताको बचाव जस्ता कुराले उनी आजका दर्जनौं बिषयमा बिद्यावारिधी गर्नेहरु र आफुलाई राष्ट्रवादी वा क्रान्तिकारी भन्नेहरु भन्दा अब्बल थिए भन्ने कुरा समयले प्रमाण्ति गरिसकेको छ । उनले नेपाल र नेपालीका लागि गरेका केहि कामहरु मात्रै प्रसँग यहाँ प्रस्तुत छन् ।

राजा महेन्द्रले देशभित्र या बाहिर कुनैपनि आधुनिक शैक्षिक संस्थाबाट शिक्षित हुन पाएनन् तर पनि उनको राष्ट्रप्रतिको माया, देश र जनताको चिन्तन, राष्ट्रको अन्तराष्ट्रिय छविको ख्याल, कुटनीति, राष्ट्रिय सम्पत्तिको सुरक्षा, राष्ट्रिय अस्मिताको बचाव जस्ता कुराले उनी आजका दर्जनौं बिषयमा बिद्यावारिधी गर्नेहरु र आफुलाई राष्ट्रवादी वा क्रान्तिकारी भन्नेहरु भन्दा अब्बल थिए भन्ने कुरा समयले प्रमाण्ति गरिसकेको छ ।

  • सन् १९५० को भारत नेपाल ‘शान्ति तथा मैत्री सन्धी’ मा जसरी नेपालको परराष्ट्र र सुरक्षा मामलाको स्थायी स्वामित्व लिने भारतीय प्रयास भयो त्यसको मूल्य नेपाली जनताले आफ्नो अस्तित्व मेटेर तिर्नुपर्ने बाध्यतालाई महेन्द्रको आँट, दूरदृष्टि सफल कुटनीतिले बिफल बनाएको थियो । २००८ साल पछि त झन तत्कालिन भारतीय प्रधानमन्त्री जावाहरलाल नेहरुले राजदरबार र अन्य नीतिगत तहमा भारतीय सल्लाहकार नियुक्त गरी सम्पूर्ण नेपालको रक्षा तथा गृहप्रशासन समेत आफ्नो नियान्त्रणमा लिएका थिए । २००८ साल कार्तिक ७ गतेको नेपाल गजेट अनुसार नेपालको अर्थ, परराष्ट्र, रक्षा, लोकसेवा, गृह र राजदरबारको सम्पूर्ण अख्तियारी सहित गोबिन्द नारायण सिहँलाई जँगे अधिकार सहित नियुक्ति गरिनुले त नेपाली सार्वभौमसत्ता पुरै भारतमा नीहित भएको मात्रै होइन प्रयोग समेत गरेको देखिएको थियो जसलाई राजा महेन्द्रले आफु राजा भएको १० महिना मैं २०१२ साल पुषमा नै ंसंंयुक्त राष्ट्रसंघको सदस्यता लिएर नेपाल सार्वभौम राष्ट्र हो भन्ने संदेश दिए भने बिक्रम संबत २०१३ साल साउन ५ गते तत्कालिन सोभियत रुससँग द्धौत्य सम्बन्ध स्थापित गरेर नेपाल कुनै भारतीय सत्ताको खेलौना होइन यसको आफ्नो सार्वभौमसत्ता र कुटनीतिक क्षमता छ भन्ने देखाइदिएका थिए । यसको परिणाम नेपालले इण्डियाबाट पहिलो नाकाबन्दी झेल्नु परेको थियो ।
  • कालापनीमा भएको इण्डियाको सैन्य क्याम्प हटाउन सक्ने ल्याकत शायद वर्तमान राष्ट्रवादीहरुमा छैन । तर २००९ साल देखि नेपालको उत्तरी सीमामा पश्चिम दार्चुला देखि पूर्वमा ओलाङ्गचुङ्गगोला सम्म संचार सेट सहित बसेका १८ वटा इण्डियन सैन्य पोष्टहरु राजा महेन्द्रले हटाएरै छाडे जसका कारण पनि आज नेपाल आज पनि स्वतन्त्र भएर रहेको छ । यदि ती सैन्य पोष्टहरु हटाइएका हुँदैन्थे भने नेपाल सिक्किम भन्दा पनि धेरै पहिले नै इण्डियाको हिस्सा बन्ने थियो । त्यो साहसिक कार्यलाई मुक्तकण्ठले प्रशंसा गर्ने आँट आजको न त सरकारसँग छ न आजका यी राष्ट्रवादीहरुसँग ।
  • आज नेपालको विदेश नीति पानी पर्दा दिल्ली कित्तामा, घाम लाग्दा बेइजिङ कित्तामा र अँध्यारो भएपछि वाशिङटन कित्तामा पुग्ने गर्छ तर नेपाल जस्तो भौगोलिक, सामरिक र आर्थिक अवस्था भएको देशको विदेश निित कस्तो हुने भन्नेमा राजा महेन्द्रमा निकै ठूलो सुझबुझ भएको देखिन्छ जसअनुसार विश्व शितयुद्ध तिर गैरहेको अवस्थामा नेपालले कसैको पक्ष लिएर स्वतन्त्र रहन सक्दैन भन्नेमा राजा महेन्द्रले बुझेर नै नेपालको विदेश नीति असंलग्न र पञ्चशीलको आधारमा चलाउने निश्चय गरे आज पर्यन्त नेपालको घोषित विदेश नीतिको आधार भनेको यहि छ ।
  • राजा महेन्द्रको सत्तारोहण हुँदा तत्कालिन नेपालमा मात्रै एउटा बैंक थियो नेपाल बैक लिमिटेड, नेपालको अर्थ बजार र मुद्रा इण्डियन कम्पनी पैसामा आधारित थियो । यो भनेको नेपालको ढुकुटीमा आफ्नो नभइ इण्डियाको अधिकार सरह नै थियो । यसलाइ तोड्न राजा महेन्द्रले २०१३ सालमा नेपालको केन्द्रिय बैंक ‘नेपाल राष्ट्र बैंक’ को स्थापना गरे । यो कार्य नै नेपालको आफ्नो अर्थतन्त्रको आफै निर्णय गर्ने मार्गमा कोशेढुङ्गा हो भन्न सकिन्छ । सरकारको ढुकुटी राख्ने बैंकको स्थापना हुनु नेपाली अर्थतन्त्रतर्फको अति नै बिशिष्ट कुरा हो । यसबाट इण्डियन मुद्राको प्रचलन मात्रै कम भएन मुद्रा सटही दरमा आएर सो गैर नेपाली मुद्रा भयो । अब राष्ट्रको संञ्चिती कोष राख्ने व्यवस्था भयो भने विदेशसँगको व्यापारको हाम्रो आवश्यकताको पूर्ति हुने देखियो । पूर्ण इण्डियन मुद्राको प्रचलन रोकेर नेपाली मुद्रालाई स्थान दिनु राष्ट्रवाद हो कि होइन यो त नेपाली बारी बाँझो र नेपालका बजार बन्द राखेर सीमापारी गएर किनमेल गर्ने राष्ट्रवादीहरुले नै भनून ।
  • नेपालको हित बिपरित जनतालाई ऋणको भारी नबोकाई विदेशी राष्ट्रहरुसँगको सहयोग अनुदानमा पूर्वपश्चिम राजमार्ग, काठमाण्डौं–कोदारी राजमार्ग, बीरगञ्ज चीनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, चोभार सिमेन्ट कारखाना, जस्ता दर्जनौं बिभिन्न उद्योगहरुको स्थापना गराए, भने औद्योगिक बिकास गर्न औद्योगिक बिकास निगम पनि बनाए , आज यी मध्ये धेरै उद्योगहरु २०४६ साल यताका यिनै राष्ट्रवादी पार्टीका सरकारहरुले इण्डियन स्वार्थमा बेचे । राष्ट्रवादीहरुबाट देशमाथि आजको १४ खर्बको ऋण बोकाईँदै छ ।
  • देशको योजनाबद्ध बिकासका लागि २०१३ साल फागुनमा राष्ट्रिय योजना आयोग गठन गरे जसले पहिलो चोटी नेपालमा पञ्चबर्षीय योजना लागू गरेको थियो र आज पर्यन्त कायम छ जहाँ आज देशको विकासका वास्तविक र स्वतन्त्र योजना कम बन्छन् तर राष्ट्रवादीहरुका कार्यकर्ताहरुको भर्ती बढि हुने गर्छन ।
  • नेपालमा पटक पटक विवादित हुने, राज्यको अर्बौ भ्रष्टाचार गर्ने, ऋणमा कर्मचारीहरुले बोनस खाने, राष्ट्रवादीहरुको लुछाचुँडी र भर्ती केन्द्र बन्ने देशको ध्वजाबाहक बायुसेवाको स्थापना पनि तिनै राजा महेन्द्रले नै २०१४ सालमा गरेका हुन भन्दा पनि राष्ट्रवादीहरुले राजा महेन्दलाई गाली गरिरहन मन लागछ होला । सँगै स्थापना भएको थाइ एयर आज संसारको ३७ देशका ८४ गन्तव्यमा पुगेको छ र यसका ९० बढि जहाज रहेका छन् भन्दा राष्ट्रवादीहरुको शिर कति ठाडो हुन्छ कुन्नी ?
  • नेपालको शासन नेपालीले नै चलाउनु पर्छ र राज्यका नागरिकलाई सेवा दिने सरकार राज्यका कर्मचारीहरुको सेवा भरपर्दो र दक्ष बनाउनु पर्छ भनेर राजा महेन्द्रले निजामती सेवा ऐन २०१३ लागू गरेर निजामति सेवालाई व्यवस्थित गरे । तर आज यसको अवस्था कस्तो छ कति पार्टीहरुको भागबण्डाको केन्द्र बनेको छ सर्वविदितै छ ।
  • आज नेपाली भाषाको उछितो काढ्ने, भाषा मास्नुपर्छ भन्दै हिन्दी भाषालाई नै नेपाली माटोभित्र भाषाको रुपमा स्थापित गराउन लागि परेका राष्ट्रवादीहरुलाई महेन्द्रसँग रिस नउठ्ने कुरै भएन किन कि नेपालमा जुन बेला हिन्दी भाषाको बोलबाला थियो, देशको भाषा नै ओझेल हुने अवस्था आएको थियो त्यस बेला नेपाललाई राष्ट्रभाषा दिने काम २०१४ सालमा नेपाल एकेडमी (आजको प्रज्ञा प्रतिष्ठान) स्थापना गरेर राजा महेन्द्रले भाषा साहित्यको क्षेत्रमा योगदान गरेका हुन । तर देशलाई विश्व समुदायले चिन्ने आज न त आफ्नो राष्ट्र भाषा रहेको छ न आधिकारिक भेष छ ।
  • आज यिनै राष्ट्रवादीहरुका कार्यकर्ताको भर्ती केन्द्र र बेथितिको बनेको र भागबण्डाको मुख्य केन्द्र बनेको त्रिभुवन विश्वविद्यालयको स्थापना पनि शिक्षाको क्षेत्रमा फड्को मार्न भनेर राजा महेन्द्रबाट नै स्थापना भएको थियो ।
  • आज भएका कतिपय राष्ट्रवादी नेताहरु तीनै राजाको योजना अन्तर्गत रुसतिर पढेर आएका पनि होलान । यसको लागि पनि नेपाली विद्यार्थीलाई छात्रबृतिमा रुसमा पढ्न पठाउने व्यवस्था पनि राजा महेन्द्रको कुटनीतिले गरेको थियो ।
  • नेपालको प्रहरी सेवा ऐन बनाएर प्रहरी सेवालाई व्यवस्थित पनि राजा महेन्द्रले नै गरेका हुन ।
  • किसानको लागि मोहियानी हकको व्यवस्थाका साथै जमीनको हदबन्दी कायम गर्दै २०२१ सालमा भूमिसुधार कानून बनाइ लागू गर्ने कामका साथै देशको सीमाना रक्षा र सुकुम्बासीहरुको व्यवस्थापन गर्न बाँके बर्दिया कैलाली र कञ्चनपुरमा बस्ती बिकास मार्फत ४–४ बिघा जमीन दिएर बस्ती बसाएको पनि राजा महेन्द्रले हो तर आज कार्यकर्तालाई बेलाबेलामा भर्ती गेरर राज्यकोषबाट खान्की खुवाएर कार्यकर्तालाई नै जग्गा बाँड्न बनाउने सुकुम्बासी आयेगहरुको उपादेयता कति छ सबैले जानेको कुरा हो ।
  • जातिभेद र सामाजिक छूवाछूतको अन्त्य गर्न छूवाछूत बिरुद्धको कानून बनाएको पनि राजा महेन्द्रले नै हो । जबकि आजका यी कथित क्रान्तिकारी, पहिचानवादी र राष्ट्रवादीहरुले यसमा अझ रङ्ग घोलेर छूवाछूत अन्तभन्दा झन विभेदको, समाजिक विखण्डनको, कित्ताकाट र घृणावादको बिजारोपण गर्नमा आफुलाई गौरान्वित महसुस गर्दछन् ।
  • अघोषित रुपमा हजारौ राजा रजौटाहरु बनिरहेको आजको परिप्रेक्ष्यमा राजा महेन्द्रले राज्य रजौटाहरुको उन्मूलनका लागि राजारजौटा ऐन बनाएर लागू गरेका थिए भन्दा हाँसो लागला तर सत्य यहि हो ।
  • एउटा कानून बनाउन विदेशी गुहार्ने र आइएनजिओको सल्लाहमा कानून बनाउनेहरुका लागि मुलुकी ऐन केहि होइन होला र यसमा भएका विभिन्न खाले महलहरु वर्तमान समय सापेक्ष रहेनन् होला तर त्यसबेला पहिलोपल्ट बिक्रम सम्बत १९१० मा जङ्ग बहादुरले बनाएको नेपालको पहिलो लिखित कानूनलाई परिमार्जन र संशोधन गरि २०२० सालमा नयाँ मूलूकी ऐन लागू गराउने काम राजा महेन्द्रले नै गरेका हुन । यो कानून अहिले मुलूकी दण्ड संहिताले बिस्थापन गरेको छ ।
  • नेपालको बिकास र प्रशासनलाई सबै जनताको पहुँचमा पुर्याउनका लागि देशलाई बिभिन्न बिकास क्षेत्रमा बैज्ञानिक बिभाजन गरेका थिए जुन कुरा अहिलेका पार्टीहरुलाई अपाच्य भयो र यसको पुनसंरचनाको लागि अरबौं खर्चेर, आइएनजीओका दाना पानी खाएर गरिएको आजको प्रदेशहरु न त महेन्द्रका जतिको बैज्ञानिक छन् न आर्थिक भार थेग्न सक्ने हैसियतका छन् । स्वयं आजका सत्ताधारी र पहिचानबादी भनिएकाहरु नै भन्दैछन् मन्दिरको भेटिले राज्य चल्दैन । केहि भक्त कार्यकर्ता बाहेक जनता यो अनावश्यक अवैज्ञानिक राज्य बिभाजनबाट असन्तुष्ट रहेका छन् ।
  • देशको सम्पदालाई जुनबेला इण्डियाले रेलमार्ग बनाउन र त्यहाँको बिकासका लागि प्रयोग गरेर मास्न थालेको थियो त्यसलाई नियन्त्रण गर्दै वन जङ्गल र वातावरणको सुरक्षा गर्नका लागि राष्ट्रियस्तरमा महेन्द्र प्रकृति संरक्षण कोष बनाई राजा महेन्द्रद्धारा नै राष्ट्रिय निकुञ्जहरुको स्थापना गरि वन जंगल बचाएर आजको पुस्तासम्म आएको हो तर आज यहि जंगलबाट अर्बौ कमाइखानेहरु नै राजा महेन्द्रलाई बढि गाली गर्न व्यस्त देखिन्छन् ।
  • राजा महेन्द्रलाई तत्कालिन इण्डियन शासक होस या चीनका माओ या अमेरिकी राष्ट्रपति सबैले ठूलो सम्मान गर्थे, राजा महेन्द्र कसैको दैलो चाहर्न र गोडा मल्न गएनन् । अरु राष्ट्र उनका सामु नतमस्तक भएर कुरा गर्थे तर आजका हाम्रा नेताहरु गोडा मोल्न होटलका कोठाहरुमा र दूतावासका रिसप्सनमा हाजिरी लगाउन जाँदा हामीले महेन्द्रलाई गाली गरेर यिनीहरुलाई सम्मान गर्दै स्तुति गाउने बाध्यता परेको छ ।

यी केहि यस्ता नमूना कामहरु थिए राजा महेन्द्रले आफ्नो १६ बर्षको शासनकालमा गरेका थिए । तर आज ३१ बर्षको यिनै राजनिितक पार्टीहरु, यिनै कथित क्रान्तिकारीहरु र पहिचानबादीहरुको शासनसत्ता रहँदा पनि देशमा देखिने गरि, जनताले प्रत्यक्ष महसुस गर्ने गरि, राष्ट्रको स्वाभिमान उँचो हुनेगरि के के गरे ? के के भयो ? नेपालको स्वाभिमान कति उँचो भयो ? त्यस्तो यहाँ केहि छैन । आज राजा महेन्द्रको अवसान भएको झण्डै ४८ बर्ष बितिसक्दा पनि उनलाई गाली गर्नेको लर्को लामो छ । हाम्रो पुस्तालाई राजाहरुका राम्रा कामहरुको बारेमा पढ्न र बुझ्न नै दिइएन । हामीलाई दिएको अर्ती हमेशा ‘राजा एउटा सामन्त हो, यसको समूल नष्ट नगरेसम्म हामीले कुनै अधिकार पाउँदैनौंं, यसलाई मास्नु पर्छ,’ भन्ने मात्रै थियो । हाम्रो पुस्तालाई त देशको बास्तबिक इतिहास पढ्न र बुझ्न नै दइएन । महेन्द्रलाई गरेको गाली र नपढाइएको नेपालको इतिहासको जगमा आजको सत्ता चलेको छ ।
तर ठोकुवा साथ भन्न सकिन्छ कि यिनीहरु भन्दा कडा र वास्तविक कम्यूनिष्ट त राजा महेन्द्र रहेछन् यो कुरा त चिनिँया नेता माओ र नेहरुका बिभिन्न वक्तव्यहरु पढ्दा पनि स्पष्ट हुँदोरहेछ । यदि महेन्द्रलाई गाली गर्ने आजका सत्ता र प्रतिपक्ष भन्नेहरुले कम्तिमा पनि हाम्रा बालबालिकालाई नेपालको आफ्नो इतिहास पढाउने साहस गर, नेपाल चिनाउने साहस गर, हाम्रा जातजाती भाषभाषीहरुका आफ्नो संस्कार, संस्कृति, भाषा र सभ्यता सिकाउने साहस गर । अनि मात्रै देश बन्छ । एउटा युग पुरुषलाई गाली गलौच गरेर, उसैले बचाएको राष्ट्रको चीरहरण गरेर देश बन्दैन भन्ने बुझ्न जरुरी छ । महेन्द्रलाई गाली गर्दै गर्दा आफ्नो कर्म र कर्तूतको मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन ? त्यो बेलाको राम्रो कामलाई पनि छोइछिँटो गर्नेले आजको कामको अवस्थालाई पनि सँगै राखेर हेर्न र जनतालाई सम्झाउनु पर्छ कि पर्दैन ? के नेपाल बचाएको, नेपाली अस्मिताको शिर उँचो बनाएको, नेपालको शासन प्रशासन मुद्रा बैंक वायुसेवा कुटनीतिको मार्ग निर्धारण गरेको, इण्डियाको अधिपत्यको अन्त गरेको कारण नै हो त राजा महेन्द्रलाई गाली गलौच गरेको ? यदि त्यसो हो भने तिमीहरुलाई नेपालको भावी पुस्ताले गाली मात्रै गरे पुग्छ कि अरु पनि केहि गर्नू पर्ला ?

Comments

ताजा खबर