म्याच फिक्सिङ मुद्दामा राष्ट्रिय फुटबल टोलीका पाँचै खेलाडीलाई सफाइ

२०७७, २ असार मंगलवार १९:०६

काठमाडौं -‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान कप्तान सागर थापा सहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

राष्ट्रिय टोलीका पूर्व कप्तान थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मङगलबार सफाइ दिएको हो । विशेष अदालतकै फैसलालाई सर्वोच्चले सदर गरेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो । प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको दाबीसहित विशेष अदालतमा पाँचै जना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा म्याच फिक्सिङ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्यविरुद्धको अपराधको मुद्दा चलाइएको थियो ।

उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि लिने गरको प्रहरीको दावी थियो । विशेष अदालतले यसअघि पाँच जना खेलाडी र एक प्राविधिक गरी छ जनालाई उक्त अभियोगमा निर्दोष ठहर गर्दै २०७५ साल जेठ २४ गते सफाइ दिएको थियो ।

सरकारी अभियोजन पक्षले २०७५ मङ्सिर २० मा उक्त विशेषको फैसलालाई चुनौती दिँदै सर्वोच्चमा पुनरावेदन गरेको थियो । प्रहरीले पक्राउ गरेर मुद्दा चलाए लगत्तै नेपालमा फुटबल नियमन गर्ने निकाय एन्फा र सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले पाँचै जना खेलाडीलाई निलम्बन गरेको थियो ।

सर्वोच्चबाट सफाई पाएपछि सागर थापाले सत्यको जीत भएको भन्दै साकाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अब मिहिनेतको मूल्यांकन सरकार वा एन्फा कसले गर्ने भनेर प्रश्न गरेका छन् ।

Comments

ताजा खबर