इतिहासमा स्वर्णिम दिन – संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित

२०७७, ३१ जेष्ठ शनिबार १७:५४

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसम्मतीले पारित भएको छ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न शनिबार बसेको प्रतिनिधिसभा बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो ।
दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न संविधान संशोधन विधेयक ल्याइएको हो ।


सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको छ । जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
आज शनिबार दिउँसो बसेको प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गरेका थिए । छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत भएको थियो । निर्णयार्थ प्रस्तुत विधेयकमा सांसदहरूले संशोधनको पक्षमा २५८ जनाले दस्तखत गरेका थिए । विपक्षमा कसैको पनि मत (दस्तखत) भएन । उपस्थित सांसदहरूले संविधान संशोधनको पक्षमा सर्वसम्मतिले मतदान गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
पारित भएको संशोधन विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरि लागू भएको घोषणा गरेपछि नेपालको निशान छाप परिवर्तन हुनेछ । इतिहासमा आजको दिनलाई स्वर्णिम दिनको रुपमा हेरिएको छ ।

Comments

ताजा खबर