परिक्षणको दायरा बढाउन किट खरिद गरी स्थानीयको स्वाब संकलन गर्दै पाल्पाका स्थानीयतह

२०७७, ३० जेष्ठ शुक्रबार ०९:१६

पाल्पा । कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढेपछि पाल्पाका पालिकाले आफै भिटिएम किट खरिद गरी स्वाब संकलनमा जुटेका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा भिटिएम किट अभाब भएको छ । स्वास्थ्यको मौज्दातमा किट ३ सय र आरडीटी किट २ सय मात्र रहेका छन् । परिक्षण गर्नुपर्ने संख्या को आधारमा यो संख्या निकै न्यून हो । रोजगारीको सिलसिलामा गई भारतबाट स्वदेश फर्किएका २ हजार २ सय भन्दा धेरै पाल्पाका क्वारेन्टाइन मा छन् । उनीहरुको पिसिआर परिक्षण गर्नुपर्नेमा कीट अभाबका कारण हुन सकेको छैन ।


संक्रमणको जोखिममा रहेको पूर्वखोला गाउँपालिकाले ५ सय भिटिएम किट खरिद गरेको छ । गाउँपालिकाले खरिद गरेकै भिटिएमबाट क्वारेन्टाइमा रहेका ३४० जनाकै स्वाब संकलन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईले जानकारी दिए । समुदायमा कोरोना संक्रमण नफैलियोस् भनी पालिकाले आफै किट खरिद गरेको अधिकृत पछाईले बताए । पाल्पाको रम्भा गाउँपालिकाले २ सय भिटिएम किट खरिद गरेको छ । गाउँपालिकाकै ल्याब असिस्टेन्टबाट क्वारेन्टाइनमा बसेका १ सय ५० जनाको स्वाब संकलन सुरु गरेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । पालिकाले थप ४ सय किट किन्ने तयारी रहेको अध्यक्ष भण्डारीको भनाइ छ ।
यस्तै माथागढीमा मात्र १४ जना संक्रमित रहेकाले पालिकाले आफै भिटिएम खरिद गरी क्वारेन्टाइमा बसेका २ सय व्यक्तिको  स्वाब परीक्षणका लागि पठाउने तयारी भएको अध्यक्ष सन्तोष थापाले बताए । परिक्षणको नतिजा ढिलाइ र किट अभावकै कारण क्वारेन्टाइनमा सिमित रहेको कोरोना संक्रमण समुदायस्तरमा फैलिन सक्ने जोखिमले नागरिक त्रसित बनेका छन् । पाल्पामा दिनहुँ संक्रमणको संख्या बढ्दै गएको छ । बिहिवार सम्म मात्र पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ भने १ जनाको मृत्यु भइसकेको छ ।
संक्रमित सबै जना भारतबाट आएका व्यक्ति हुन् । थप किटको लागि केन्द्र र प्रदेश सरकारसँग ताकेता गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनका अनुसार केन्द्र सरकारले अनुमती दिएमा जिल्लाका १० वटै पालिका मिलेर पीसीआर परीक्षण मेसिन खरिद गरी पालिकास्तरबाट संकलन भएको स्वाब परीक्षण गर्न सकिने छ ।
यसले गर्दा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सहज हुने उनको भनाई छ । भिटिएम किट अभावमा प्रदेश सरकारको निर्यण बमोजिम लक्षण नदेखिएका भारतबाट आएका व्यक्तिलाई बिनापरीक्षण धमाधम घर पठाउने काम भइरहेको छ । क्वारेन्टाइनमा बसेर बिनापरीक्षण जोखिमको सूचीमा रहेका व्यक्तिलाई घर पठाउदा समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएको छ । पाल्पाका सामुदायिक विद्यालयका क्वारेन्टाइन भरिएका छन् । पाल्पामा दैनिक दुई सयको हाराहारीमा क्वारेन्टाइमा संख्या थपिने गरेको छ ।

Comments

ताजा खबर