धेरै संख्यामा कोरोना संक्रमित भेटिएसंगै एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध

२०७७, ३० बैशाख मंगलवार २०:३६

पाल्पा । कोरोना भाइरस संक्रमित एकै पटक धेरै संख्यामा भेटिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयले मंगलबार एक निर्णय गर्दै बिहिवार जेठ १ गते देखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा जानका लागी जारी गरिएका सबै प्रकारका पास रद्दगर्ने निर्णय गरेको छ ।

एउटै जिल्लाभित्र आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने भएको छ । गृहका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि लकडाउनमा कडाइ गर्न लागिएको गृहले जनाएको छ ।

सरकारले बैसाख २६ देखि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग र निर्माण क्षेत्रसहितका मानिसहरुले आफू कार्यरत कार्यालयको परिचयपत्रका आधारमा सवारीसाधन चलाइरहेका थिए । अब परिचयपत्र देखाएर सडकमा निस्कन पाइने छैन । नेपालमा एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित थपिएसंगै सबैतिर त्रास फैलिएको छ ।

Comments

ताजा खबर