मेराे भूमि फिर्ता ल्याइ देउ

२०७७, २९ बैशाख सोमबार २२:५७

मित्रलाल सापकोटा

बिर्सेका छैनन जनताले
तिमी काठमाण्डाैंका सडकमा
ताण्डव नाच नाच्दै,
रेलिंग भाँच्दै
टायरहरू बालेर बुङ्ङ बनाएकाे

बाटाे र भित्ताहरूमा इनामेल खनाएकाे
क्रान्तिका जाेसिला भाषणहरू
लमतान्य रहेका ती आसनहरू
राताे घर अगाडी उभिएर
रङिबिरङी पर्चा हातमा लिएर
लक्षमणपुर देखि टनकपुरसम्म
सुस्ता देखि टिँङकरसम्म
कालापानी र लिपुलेककाे मार्चपास भन्दै
चन्दा र धन्दा चलाएकाे

पश्चिमका पहाडमा गएर
सुरूङ भित्रका कथा बुनेर
झण्डा गाडेर फाेटाे हालेकाे
देशभत्तिकाे सर्टिफिकेट लिएर
सिँहदरबार तिर हेर्दै
भद्रकालीबाट हुँकार भरेकाे
अाजपनि मेरा कानमा गुँजिदैछ
तिम्राे त्याे जाेशलाइ नमन गर्नेहरूकाे भीडमा
मेराे पनि आशा थपिएकाे थियाे

त्यसैले त आज म पनि
तिमीले हुँकार भरेकाे भद्रकालीमा
तिम्राे सिँहदरबार भित्रकाे
कुर्ची र झण्डातिर फर्केर उभिएकाे छु

तिम्राे जस्ताे त्याे हुँकार भरेर हाेइन
बिन्तीभाउकाे मसिनाे स्वरमा
लाैन त्याे तिम्राे हुँकार मिथ्या हाेइन भने
अाज मलाइ मेराे आशा जगाइ देउ
मलाइ मेराे भूमि फिर्ता ल्याइ देउ ।

Comments

ताजा खबर