गर्भावस्थामा हुने स्ट्रेच मार्क्सलाई यसरी कम गर्न सकिन्छ ।

२०७७, २५ बैशाख बिहीबार १७:४१

बैशाख २५ । गर्भावस्थामा शरीर परिवर्तन हुने हुँदा महिलाहरूमा स्ट्रेच मार्क्स देखिनु एक साधारण समस्या मानिन्छ । गर्भमा बच्चालाई बढ्नको लागि ठाउँ चाहिने हुँदा शरीरको तौल र आकारमा परिवर्तन आउँछ ।

छालाहरू अत्यधिक तनिएमा छालामा रहेको कोलेजेन टिश्यू कमजोर भएर टुक्रिन थाल्छन् । छालामा सुरुमा गुलाबी वा रातो रंगका दागहरू देखिन्छन् जुन पछि सेतो रेखामा परिणत हुन्छ, जसलाई सामान्य भाषामा स्ट्रेच मार्क्स भनिन्छ । गर्भावस्थाको दोस्रो र तेस्रो महिनामा स्ट्रेच मार्क्स पेटका साथै स्तन, तिघ्रा र पछाडिको भागमा देखा पर्न थाल्छ ।

गर्भावस्थामा बाहेक द्रुत तौल बढ्नु वा घट्नु, आनुवंशिक र हर्मोनका कारण पनि स्ट्रेच मार्क्स आउन सक्छन् । सदाका लागि रहिरहने हुँदा स्ट्रेच मार्क्स गर्भावस्थाको त्यस्तो प्रभाव हो जुन कुनै महिलालाई मन पर्दैन । तर, समयमै ध्यान दिइएमा यसलाई केही हदसम्म कम गर्न र हल्का गर्न सकिन्छ । पेट तथा स्ट्रेच मार्क्सहरू आउने सम्भावना भएको छालालाई हाईड्रेट गर्नका लागि राम्रो मोइस्चराइजरको प्रयोग गर्नुपर्छ ।

नरिवल तेल, कोको बटर, बदाम तेल, शिया बटर जस्ता तेलहरूमा एन्टीआक्सीडन्ट गुणहरू छन्, जसले नयाँ छाला सिर्जना गर्न र छालालाई स्वस्थ राख्न मद्दत गर्दछ । साथै एलोबेरा जेलको पनि प्रयोग गर्न सकिन्छ । स्ट्रेच मार्कहरूबाट बच्नको लागि शरीरको तौललाई नियन्त्रण गर्नुपर्छ । छोटो समयमा धेरै तौल बृद्धि भएमा छाला बढी फैलिन्छ जसका कारण स्ट्रेच मार्क गाढा हुन्छ ।

गर्भावस्थामा नियमित व्यायामले रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा छालाको लचिलोपन रहिरहन्छ । व्यायामका कारण आउने पसीनाको शरीरबाट विषाक्त पदार्थहरू हटाएर, तौल बढ्न दिदैन जसले गहिरो स्ट्रेच मार्क्सहरू हटाउन मद्दत गर्दछ । गर्भवती हुँदा वा नहुदा स्वस्थ छालाको लागि धेरै पानी पिउनु सधैं आवश्यक हुन्छ । पानीले डिटोक्सिफिकेसन गर्नुका साथै छालामा चमक कायम राख्न मद्दत गर्दछ । दिनभर कम्तिमा ८ देखि १० गिलास पानी पिउनुपर्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु