नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

आलोचना र गाली नछुट्याउने भीडबाट कस्तो लोकतन्त्रको अपेक्षा गर्ने ?

२०७७, २२ बैशाख सोमबार १२:५०

मित्रलाल सापकोटा
लोकतन्त्र भनेको जनताको शासन हो । जनताले आफैमाथि शासन गर्नका लागि आपैmले चुनेर प्रतिनिधी पठाउने र तिनीहरुबाट नै आफु शासित हुने विधि हो लोकतन्त्र । यो व्यवस्थामा जनता राजनीतिक रुपमा शक्तिशाली हुन्छ । जनताले चुनेर पठाइसकेपछि ती प्रतिनिधी जनताबाट काटिएर बस्न मिल्दैन । जनताको प्रतिनिधी बनेर आफुलाई चुनेर पठाउने जनताको हरेक सामूहिक सुख दुःखमा साथ रहनु उनीहरुको कर्तव्य हो । लोकतन्त्रमा त झन जनताले आफुले बनाएको सरकारलाई यसले गरेको कामको पाइला पाइलामा प्रश्न गर्न पाउनु नै लोकतन्त्रको गहना नै हो । जसले सरकार बनाउनका लागि मुख्य भूमिका खेल्छ उसले सरकारलाई कठघरामा उभ्याउन पाउँछ । लोकतान्त्रिक मुलुकमा जनताले आफ्नो आवाज दबाउनु पर्दैन । आफ्नो आवाज बुलन्द गर्न पाउनु, आफ्नो सरोकार अर्थात जनसरोकारका बिषयलाई पुरै शक्तिशाली तरिकाले उठाउनु, सरकारको काममा बिशेष निगरानी राख्दै यसको कार्यमा कुनै चित्त नबुझेमा आफ्नो वाकस्वतन्त्रताको मौलिक एवं संवैधानिक हकको प्रयोग गर्दै आलोचना गर्ने गर्नाले जनताले आफुले आफैमाथि शासन गर्न बनाएको सरकार माथि जनताले अप्रत्यक्ष रुपमा नियन्त्रण गरेका हुन्छन् ।

संविधानले व्यवस्था गरेको वाकस्वतन्त्रताको मौलिक हकबाट यदि कसैलाई छटपटी भएको छ भने त्यो यहि सरकार र यसका सल्लाहकारहरु, सरकारी दानापानीमा पालिएका यहि सत्तासीन पार्टीका कार्यकर्ताहरुलाई भएको छ ।

नेपालमा २०६२–०६३ को परिवर्तन पछिको लोकतान्त्रिक संविधान अनुसार बनेको पहिलो सरकारले त्यहि संविधानले व्यवस्था गरेको वाकस्वतन्त्रताको मौलिक हकबाट यदि कसैलाई छटपटी भएको छ भने त्यो यहि सरकार र यसका सल्लाहकारहरु, सरकारी दानापानीमा पालिएका यहि सत्तासीन पार्टीका कार्यकर्ताहरुलाई भएको छ । आज सरकारले के काम गरेको छ या कस्तो काम गर्दै छ ? यसको स्वतन्त्र रुपमा लेखाजोखा कसैले गर्न पाउँदैन या सक्दैन । किनपनि भने यहाँ बीना स्तुतिगानको लेखाजोखा गरियो कि त यहाँ बिरोधी हुने डर छ । यसलाई गालीको संज्ञा दिइन्छ । सरकारलाई गाली गर्ने ? हेप्ने ? भनेर त यसका प्रवक्ताले नै पटकपटक भनेका दृष्टांन्त छ । सरकारले र सत्तासीन पार्टीका कार्यकर्ताहरुबाट जनतालाई प्रश्न उठाएकै भरमा यसो भए हुन्थ्यो भनेकै भरमा यसलाई सरकारलाई गरेको गाली भन्दै जनताको उछितो काढ्न कतै कञ्जुस्याईं समेत गरिँदैन ।
विचारलाई प्रतिबन्ध गर्ने, विचारले शासकहरुको काममा कैफियत दिखाएमा त्यसलाई निषेध गर्ने, यस्ता विचार राख्नेहरुलाई आफ्नो जुनसुकै कामको पनि स्तुतिगान गर्ने तहमा ठेगान लगाउँने र यदि त्यसो गर्न उ राजी भएन भने त्यसलाई सफाया गर्ने प्रवृति भनेको हामीले सुनेको पढेको वा बुझेको कम्तिमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा हुृनै सक्दैन । लोकतन्त्रमा त विचारहरुको सम्मान गरिनु पर्छ । अपमान त्यस्तो विचार र कार्यको हुनु पर्छ जुन विचारले देशको अस्मिता धरापमा पर्दछ । यदि जुन कुनै विचारले देशको परम्परागत र मौलिक पद्धतिको अनुसरण गर्दछ, देशको वास्तविक पहिचानको रक्षा गर्दछ, देशको भाषा सँस्कृतिको निरन्तरताको र सम्र्वद्धनको कुरा गर्दछ, आफ्नो स्वर्णीम ऐतिहासिकतामा गर्व गर्न सिकाउँछ भने यसमा कुनै पनि देशका नागरिकहरुलाई आपत्ति हुन्छ जस्तो लाग्दैन । तर बिडम्बना नेपालमा त्यसको ठीक उल्टो यस्ता बिचारहरु र व्यवहारहरुलाई भद्दा मजाक बनाइन्छ । समाजमा खिसिटिउरी गरेर उडाउनका लागि ठूलो समूह लागि पर्दछ । अनि यसलाई पनि सरकारलाई गरेको गाली सम्झिइन्छ ।
पछिल्लो साल सन् २०१९ को दिसम्बर ३१ मा चीनको वुहान देखि शुरु भएर अहिले संसारका २१० देश नोबेल कोरोनाको भाइरसबाट आक्रान्त छन् । नश्वर जीवनका बाँच्ने आशामा बसेका जिन्दगीहरु धमाधम विलिन भै रहेका छन् । यो क्रम रोकिने कुनै छेकछन्द छैन ।

संसारले आफ्नो अभिवादनको विधि सच्चाउन लागेको छ । इजराइल देखि जर्मनी र महाशक्ति अमेरिकाका राष्ट्रप्रमुखहरुले उनीहरुको परम्परागत हात मिलाउने र गला मिल्ने चुम्बन गर्ने चलनमा परिवर्तनको खाँचो महसुस गरेका छन् र भन्दैछन् नमस्कार, नमस्ते गर्नु नै उत्तम रहेछ, यसमा अभ्यास पनि गर्दैछन् ।

नेपालमा पनि यसैको त्रास निकै छ । जहाँ हालसम्म धेरै जना यसको संक्रमणमा आएको खबर छ । यसको आडमा थुप्रै कमाउ धन्धाहरु पनि चले भनेर आवाज आइ पनि रहेका छन् । संसारले आफ्नो अभिवादनको विधि सच्चाउन लागेको छ । इजराइल देखि जर्मनी र महाशक्ति अमेरिकाका राष्ट्रप्रमुखहरुले उनीहरुको परम्परागत हात मिलाउने र गला मिल्ने चुम्बन गर्ने चलनमा परिवर्तनको खाँचो महसुस गरेका छन् र भन्दैछन् नमस्कार, नमस्ते गर्नु नै उत्तम रहेछ, यसमा अभ्यास पनि गर्दैछन् । आफ्ना जनतालाई मात्रै होइन संसारको सबैभन्दा शक्तिशाली केन्द्रमा बसेर संसारका मिडियाका सामु संसारलाई भन्दै छन् कि नमस्कार गर । तर आज नेपाल जस्तो देश जसको आफ्नो अभिवादनको मौलिक पद्धति नै नमस्कार छ । जुन कुरा आफ्नो ऐतिहासिक र साँस्कृतिक पनि हो । जुन कुरामा संसारले अनुसरण गर्दा यो देशको शिर उँचो हुनु पर्ने हो, यसमा यहाँको सरकारले र यसका कार्यकर्ताहरुले न गर्व गर्न चाहन्छन् न यसलाई सबैले प्रयोग गरौं भनेर सार्वजनिक आव्हान गरेका छन् । बरु हात नमिलाऔं, गला नमिलाऔं भन्छन् तर अभिवादन गर्न के गर्ने भनेर भन्न सक्दैनन् । यो जस्तो लाजमर्दो कुरा के हुन सक्छ र ?

आफ्नो र आफनो देशको परम्परागत सँस्कार र सँस्कृतिलाई संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश छिमेकी राष्ट्र भारतका प्रधानमन्त्रीले सगर्व साथ धारण गर्दा र आफ्नो सँस्कृतिमा रमाउँदा कुनै लज्जाबोध गर्दैनन् भने कोरोनाको प्रसारसँगै अभिवादनको वैदिक सनातनी पद्धतिको संसारभर सार्वजनिक चर्चा गर्छन् । तर हाम्रो देशका शासकहरु जो यहि संस्कार र सँस्कृतिले ओतपोत भएको माटोमा हुर्के बढे, यसै सँस्कृतिले सिँचेको रगतबाट यस देशको शासनसत्तामा आसिन भएका छन् तर यसमा कदाचित गर्व गर्नु त परको कुरा चर्चा सम्म पनि गर्न चाहन्नन् । यस्ता सँस्कार सँस्कृतिका कुरा गर्यो कि त यिनीहरुलाई प्रतिगमनसम्म पनि देखिन थाल्छ । यो कहाँको नैतिकता हो, कहाँको सँस्कार हो कि ? यो हाम्रो नेपाली सँस्कार र सँस्कृतिलाई गाली गर्दै हिँड्ने तागत यिनीहरुलाई कहाँबाट आइरहेको छ ? यसको पनि समयले अवश्य मूलांकन गर्ने नै छ ।
यहाँ नेपाली सँस्कृतिको कुरा गर्यो कि यो सरकार र यसका तालुकारलाई गाली लाग्छ । सरकारले गर्नुपर्ने लोकतान्त्रिक कार्यको अपेक्षा राख्यो कि गाली लाग्छ । लोकतन्त्रमा त संचार क्षेत्र स्तुतिको ताबेदार हुनुहुँदैन भन्ने मान्यता छ तर यहाँ त सरकार यसका हाँगाबिँगाहरु साथै सत्ताधारीका कार्यकर्ता मात्रै होइन स्वयं लोकतान्त्रिक विधि र पद्धतिबाट निर्वाचित भएर आएका प्रधानमन्त्री समेतले संचार जगतको दिल खोलर उछितो काढ्नमा आफ्नो पौरख ठान्छन् । हरेक जनतालाई सरकार मेरो सरकार बनोस्, यो देशको मौलिकता सँस्कार धर्म सँस्कृतिको रक्षक बनोस भन्ने अपेक्षा हुन्छ तर यहाँ यस्तो अपेक्षा राख्न पाईँदैन यो पनि गाली लाग्छ । लोकतन्त्र भनेको इतरविचारको हत्या या राष्ट्रिय अस्मितामा बन्देज हो जस्तो लाग्दैन । यिनै भन्छन् देश धर्मनिरपेक्ष छ, यसैलाई संविधानले भन्छ नेपालमा सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक साँस्कृतिक स्वतन्त्रता । अब यो परापूर्वकाल देखि चलिआएको सनातन धर्म सँस्कृति कुन हो त ? त्यो सम्म पनि भन्न नपाउने संरक्षणका कुरा गर्दा प्रतिगमनकारी हुने ? हाम्रो यो परम्परा कै कारण नेपाल र नेपालीको विकास पछि परेको हो यसलाई मास्नु पर्छ, हाम्रा धार्मिक ग्रन्थका पान्नाहरु च्यात्नुपर्छ भन्नेहरु नै लोकतन्त्रका हिमायती बनेका छन् ।

देश धर्मनिरपेक्ष छ, यसैलाई संविधानले भन्छ नेपालमा सनातन देखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक साँस्कृतिक स्वतन्त्रता । अब यो परापूर्वकाल देखि चलिआएको सनातन धर्म सँस्कृति कुन हो त ?

संरक्षण गर्नुपर्छ भन्नेहरुलाई आज पाखण्डीहरु भन्ने र सरकारका मान्छेले यसो किन गरेको भन्ने आलोचनालाई गाली सम्झीने जमातको यहाँ कमी छैन । बहुमत जनताले शासन गर्ने भनिएको लोकतन्त्रको परिभाषामा हाम्रो जस्तो पहिलो हुने निर्वाचित हुने पद्धति अंगालेको देशमा अल्पमतले मात्रै शासन गर्दछ भन्ने करा यसपटकको सरकारमा लागू हुँदैन । अहिले नेपालमा ५४.६७ प्रतिशत भोट पाएको संख्याबलमा मात्रै होइन प्राविधिक रुपमा पनि स्पष्ट बहुमत प्राप्त गरेको सरकार छ । यस्तो प्रचण्ड बहुमत प्राप्त सरकारले आफूलाई कम्यूनिष्ट भएर पनि आफुहरु सबैभन्दा लोकतान्त्रिक भएको डंका पिट्न पछि पर्दैन यो तथापि उनीहरुको खोपीभित्र लोकतन्त्र नभएको भन्ने गाईँगुईँ सुनिँदै गर्दा अन्य व्यक्तिहरु जो यिनीहरुको आर्दशसँग सहमति राख्दैनन् त्यस्तालाई निषेध गर्न लागि पर्नु या बयानबाजी गर्नु कस्तो लोकतन्त्रको अभ्यास हो । के लोकतन्त्रमा सरकार तानाशाही हुन पाउछ र ? जनताबाट जे जसरी चुनिएर आएता पनि र जुन पार्टीको भएता पनि सरकार बन्ने संख्याबलले नै हो यसमा दुइमत हुन सक्दैन तर सरकार चुनिइ सकेपछि त्यो सरकार अमूक कुनै पार्टी बिषेशको या गुट बिषेशको हुन्छ भने त्यहाँ सरकारले आफ्नो नैतिकता छोड्यो भन्दा हुन्छ । पार्टीका अरौटे भरौटेहरुको घेराबन्दीमा बसेर तिनीहरुकै हितको काम मात्रै गर्ने प्रवृति पनि नछोड्नेहरुको अरुले उनीहरुको स्तुतिगान गरेर लेखे बोले मात्रै बुद्धिजिवी भइने, सँस्कारी भइने, नत्र यसो नगर्नेहरु सरकारलाई गाली गर्नेहरुको कित्तामा परिने जस्तो बेतुकी गैर लोकतान्त्रिक चरित्रलाई कम्तिमा पनि लोकतान्त्रिक देशका नागरिकले स्वीकार गर्न सक्दैनन् ।
लोकतन्त्रमा सरकारको आखाँ भनेको संचार क्षेत्र हो । जनताको आखाँ भनेको जनप्रतिनिधीहरु हुन । अझ बिषेश गरेर प्रतिपक्ष हो र अर्को प्रतिपक्ष भनेको त संचारजगत नै हो । संचारले आफ्नो मनगढन्ते या ताबेदारीको व्याख्या गर्नु हुँहैन किन कि संचारजगत भनेको त लोकतान्त्रिक व्यवस्थामा जनताको आखाँ र सरकारलाई खबरदार गरिरहने प्रतिपक्ष हो । तर यसको कल्पना नेपालले अभ्यास गरेको लोकतन्त्रको चरित्रमा भेट्न सकिएको छैन । यहाँ त कसको अन्र्तवार्ता लिने, कसको बारेमा लेख्ने वा बोल्ने अनुमति विधिले निर्धारण गर्दैन हुकुमले गर्नुपर्छ भन्ने मान्यता छ । यसो नगरेमा स्पटिकरण सोधिन पनि सक्छ । पछिल्लो समय त प्रेसएकजना राजनीतिशास्त्रका प्राध्यापकलाई उनकै भनाइ अनुसार कतिपयले प्रश्न गरेछन् कि किन उनी सधैँ सरकारलाई गाली मात्रै किन गर्छ भनेर । अझ यसभन्दा पनि अगाडी बढेर पद नपाएर सरकारलाई गाली गरेको पनि भन्नेहरु पनि भेटिएछन् रे । तर एउटा प्राध्यापक जस्तो व्यक्तिको आलोचनामा गाली देख्नेहरुले अन्यको कुरामा अक्षम्य गाली नै देख्नु कुन नौलो कुरा हो र ?

लोकतन्त्रमा त संचार क्षेत्र स्तुतिको ताबेदार हुनुहुँदैन भन्ने मान्यता छ तर यहाँ त सरकार यसका हाँगाबिँगाहरु साथै सत्ताधारीका कार्यकर्ता मात्रै होइन स्वयं लोकतान्त्रिक विधि र पद्धतिबाट निर्वाचित भएर आएका प्रधानमन्त्री समेतले संचार जगतको दिल खोलर उछितो काढ्नमा आफ्नो पौरख ठान्छन्

यस्ता प्राध्यपकहरुलाई पक्कै पनि कुनै कृपा पद खाएर सातपुस्तालाई पालौंला या सरकारी ढुकुटीबाट स्वास्नी विदेश घुमाउँला भन्ने पक्कै हुँदैन होला । स्पष्ट कुरा राख्नेहरुको कुरा आजको सत्ताधारी भीडलाई गाली लाग्नु स्वभाविक नै हो किन कि त्यहाँ यस्ताका भनाईमा सरकारको स्तुतिगान देखिएन होला भन्न सकिन्छ ।

हुन त हाम्रो परम्परामा प्रतिपक्ष भनेको परापूर्वकाल देखि नै रहेको पाइन्छ । बीना प्रतिपक्षको संसारको परिकल्पना पनि हुन सक्दैन । जस्तो अमृतको बिष, गोरोको कालो, देवताको राक्षस आदी । अहिले यसलाई विपरितार्थको रुपमा बुझिन्छ तर त्यसो मात्रै पनि होइन । प्रतिपक्ष सधैं विरोधका लागि मात्रै हुन्छ भन्ने अहिलेको मान्यता किमार्थ सत्य होइन । राजनीतिमा त झन प्रतिपक्ष भनेको पक्षले गरेको कार्यलाई खबरदारी गर्ने अंग हो । आज देशमा प्राविधिक रुपमा प्रतिपक्ष नामका लागि मात्र छ । यसको तात्विक रुपमा अर्थ भएको जस्तो छैन । लोकतन्त्रमा प्रतिपक्षको भूमिका ती जनताहरुको आवाजको रुपमा हुनु पथ्र्यो जो सरकारको फरिया भित्र पर्दैनन्, जो सत्ताधारी पार्टीका कित्ताभित्रका होइनन् उनीहरुको आवाज सहित सरकारको उन्मत्तता, एकाधिकारवादी चरित्रलाई नियन्त्रण गर्न सकोस् । तर बिडम्बना यो छ कि यहाँ त सबै चचेर मौसेरे भाई झैं भएका छन् । एउटाका पछिल्ला कर्महरुमा पर्दा हाल्न हो या भोली आफ्नो पालोमा अहिलेको प्रतिपक्षलाई नरम स्वभावमा राख्न यी पनि मौन छन् । यो परिस्थितीमा सत्ताको प्रतिपक्षको खालीस्थानमा जनता स्वयंम् नै उभिनु परेको आजको अवस्था हो । जब देशमा रहेको प्रतिपक्षको आवाजलाई प्रतिपक्ष मार्फत सत्ताको र सरकारको सामु व्यक्त गर्ने वातावरण र माध्यम हुँदैन त्यतिखेर जनताहरु आफ्नो आवाज आफ्नै माध्यमबाट उठाउने बाहेक अर्को उपाय पनि रहँदैन ।

प्रतिपक्ष सधैं विरोधका लागि मात्रै हुन्छ भन्ने अहिलेको मान्यता किमार्थ सत्य होइन । राजनीतिमा त झन प्रतिपक्ष भनेको पक्षले गरेको कार्यलाई खबरदारी गर्ने अंग हो ।

त्यसैले त जनताहरु आफ्नो आवाज आधुनिक सञ्जालबाट या फेरि गल्ली र चोकचोकमा जम्मा भएर उठाउन खोज्दै छन् । तर यो कुरामा अहिलेको सरकार बैमानी देख्छ, आफ्नो स्तुतिगानमा भएको कमी देख्छ । प्रतिगमन देख्छ । आफ्नो बदनामी देख्छ । उसको यो आवाजमा यिनका भीडबाट हावा भरिन्छ । यसैलाई नै अहिलेको सरकार र यसको भीडले आलेचना हो भनेर गल्ती सुधार गर्ने अवसर ठान्दैन, आफुले कहिँ न कहिँ जनताको चाहना सम्बोधन गर्न भएको कमि महसुस गर्दैन अनि दम्भ भर्छ, आफु मात्रै ठीक भएको र अरु सब जनता गलत भएको सोंच्न थाल्दछ । यसका तालुकदार भीडले जनताको आवाजलाई र उनको आवेगलाई गाली सम्झन्छ । अहिले भएको त्यहि हो । जसरीपनि चुनाव जितेपछि लोकतान्त्रिक भैरहने र यसमा अर्को पाँच बर्ष सत्ताले जे गरे पनि जनता चुपलाएर बस्नै पर्ने लोकतन्त्रको परिभाषा हुनै सक्दैन । यसैले भन्न सकिन्छ कि आलोचनालाई समेत आफ्ना बिरुद्धको गाली सम्झने र गाली र आलोचनामा भिन्नता नदेख्ने यो भीडबाट कस्तो लोकतन्त्रको अपेक्षा गर्नु ? जनताले खोजेको, देशले रोजेको, लोककल्याणकारी लोकतन्त्रको अपेक्षा कम्तिमा पनि अहिलेको परिवेशमा अपेक्षा गर्न सकिँदैन ।  (लेखक : सामाजिक अभियन्ता हुनुहुन्छ )

Comments

ताजा खबर