नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि।

२०७७, २१ बैशाख आईतवार १८:५८

नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका छन् ।

१९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगेटिभ आएको छ ।

उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।

यस्तै, आजै पर्साको वीरगन्ज महानगरपालिका-३ छपकैयामा एक ३६ वर्षीय पुरुषमा कोरोनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

Comments

ताजा खबर